बागलुङमा धान दिवस मनाइयो : उत्कृष्ट चार किसान पुरस्कृत


खेमराज गौतम, बागलुङ
कृषि ज्ञान केन्द्र बागलुङ र जिल्ला कृषि सहकारी संघ बागलुङको संयोजनमा शनिबार असार १५ को अवसरमा २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

धान दिवसका अवसरमा बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट चार कृषकलाई नगद सहित पुरस्कृत गरिएको हो । जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद दश/दश हजार नगद सहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।



सुन्तला जातको फलफूल खेतीतर्फ बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्त बहादुर खड्का, तरकारी खेती तर्फ बागलुङ नगरपालिका–९ तित्याङका पदम बहादुर खत्री, स्याउ र आलु खेती तर्फ ढोरपाटन–९ स्थित उत्तरगंगा अर्गानिक एग्रोका चिरन कुमार घर्ती र बागलुङ नगरपालिका–१२ स्थित कालीगण्डकी दूग्ध उत्पादक सहकारीका कृष्ण प्रसाद लाछिानेलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नका लागि नगद सहित सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिकृषक १० हजारका दरले पुरस्कृत तथा सम्मान गरिएको हो । कृषि पेशा तर्फ छाएको निरासालाई चिर्दै कृषकको उर्जा थप्ने काम ज्ञान केन्द्रले गरेको कृषक पदम बहादुर खत्रीले बताउनुभयो । सुन्तला खेतीबाट एक वर्षमा रु. पाँच लाख आम्दानी गर्दै आउनुभएका अनन्त बहादुर खड्काले उचित मूल्य र बजार व्यवस्थापनमा अझै समस्या रहेको बताउनुभयो । कृषकले उत्पादन गरेका तरकारी, फलफूल र दूध लगायतको उत्पादनको बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने पुरस्कृति किसानहरुको भनाई छ ।



प्रधानध्यापकबाट अवकास प्राप्त पछि सुन्तला खेतीमा लाग्नुभएका खड्काले कृषकहरुलाई प्रोत्साहन गरेकोमा कृषि ज्ञान केन्द्र बागलुङलाई धन्यवाद दिनुभयो । पुरस्कार तथा सम्मान जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले कृषकको पीर मर्का बुझेर राज्यले नीति बनाउन आवश्यक रहेको औलाउनुभएको छ । उहाँले किसानका समस्यामा आफू सदैव अग्रसर रहने जानकारी दिनुभयो ।



उहाँले असली किसानलाई प्रोत्साहन गर्न सकेमा कृषि पेशा आकर्षणको पेसा बन्न सक्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल, राष्ट्रिय सहकारी महासंघ बागलुङका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी ‘अन्जु’ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, जिल्ला सहकारी संघ बागलुङका सञ्जालक जगन्नाथ आचार्यको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा हिले दौड समेत राखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *