अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

डम्मर बुढा मगर, बागलुङ
पाँच वर्ष अगाडिदेखि बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहडनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हालो जाति मान्न छोडेका छन् ।

सुरु–सुरुमा आधुनिक हलो पाउनका लागि लुछाचुडी गर्ने किसानले अहिले चासो दिन छाडेको छन् । आधुनिक हलोका सट्टा गोरु पाल्न थालेका छन् । ग्रामीण क्षेत्रका भिराला जमिन जोत्न समस्या हुने र गोरुले जोते जस्तो नहुँने हुँदा आधुनिक हलोको प्रयोग घट्न थालेको हो ।

आधुनिक हलोले थोरै समयमा धेरै खेतबारी जोत्न सकिने भए पनि उत्पादनमा ह्रास आएपछि हल गोरु पाल्न थालेको निसीखोला गाउँपालिका–२ का किसान खुमबहादुर कुँवरले बताउनुभयो । तराई क्षेत्रमा आधुनिक हलो उपयुक्त हुने भए पनि पहाडी क्षेत्रमा प्रभावकारी नहुने उहाँको भनाइ छ ।

करिब तीन वर्षसम्म आधुनिक हलोले खेतबारी जोतेर बाली लगाउँदै आए पनि उत्पादनमा धेरै गिरावट आएपछि हलगोरुनै पाल्न थालेको कुँवर बताउनुहुन्छ । आधुनिक हलोले गोरुले जसरी गहिरो हुने गरि नजोत्दा मकै बाली ढल्ने, धानले गतिलो गरि जरा नहाल्दा उत्पादन घटेको उहाँको बनाई छ ।

कुँवरले भन्नुभयो – “गाउँमा आधुनिक कृषि प्रणाली अपनाउन थाल्यौँ, मिनिटेल हलो ल्याएर खेत बारी जोत्न काम पनि भयो, तर हाम्रो जस्तो क्षेत्रमा मिनिटेलको प्रभावकारी हुँदो रहेनछ, बारीमा कहीँ ढुङ्गा, कहीँ गग्रेटा हुन्छन्, तर आधुनिक हलोले गहिरो गरि नजोत्ने रहेछ, गारुले जोत्दा हलो गहिराईसम्म पुग्ने हुँदा बिउ पनि राम्रोसँग उम्रिने र जरा बलियो हुने रहेछ, तर मिनिटेलले माथि–माथिको माटो मात्रै उप्काउने हुँदा उत्पादन घट्यो, मैले हल गोरुले जोत्दा १७÷१८ मुरी धान फलाउँथे, आधुनिक हलोले जोत्दा तीन वर्षसम्म लगातार उत्पादन घट्यो, त्यही भएर अहिले गोरु पाले र जोत्न थालेको छु ।”

पछिल्लो समय बागलुङका धेरै किसानले हल गोरु पाल्न थालेका छन् । कृषि ज्ञान केन्द्र बागलुङ र स्थानीय तहहरुले अनुदानमा दिने आधुनिक हलो प्रति कम चासो दिएको पाइन्छ । जैमिनी नगरपालिका–४ का किसान हर्कबहादुर थापाले आधुनिक हलोभन्दा हलगोरु पाल्दा फाइदा हुने बताउनुभयो । गोरु पाल्दा मल र जोत्नका लागि प्रयोग उहाँको भनाइ छ ।

करिब चार वर्ष मिनिटेलले बारी जोतेको सुनाउँदै उत्पादन बढाउन नसकेपछि अहिले छोडेर परम्परागत रुपमै हल गोरुले जोत्न थालेको थापा बताउनुहुन्छ । विभिन्न सरकारी संघ संस्थाले आधुनिक हलो अनुदानमा दिए पनि आफूले नलिने उहाँको भनाइ छ । उन्नत जातका बिउ प्रयोग भने बढ्न थालेको थापाले बताउनुभयो ।

बागलुङको जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले हल गोरु पालि व्यावसायिक रुपमा खनजोत गर्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान दिने भएका छन् । बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएपछि प्रोहोत्सान गर्न किसानलाई अनुदान दिने तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले ले बताउनुभयो ।

गोरु पाल्ने किसानलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्न आगामी वर्षका लागि पाँच लाख बजेट समेत विनियोजन गरेको उहाँको भनाइ छ । प्रविधिको विकाससँगै गोरुले जोत्ने परम्परा हरान थालेपछि यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिइने अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *