कालीगण्डकी कोरिडोर अवरुद्ध हुँदा नागरिकलाई सास्ती

आदर्श अनलाइन, बागलुङ
तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर अहिलेसम्म संचालनमा आउन सकेको छैन । गत असार २६ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले कोरिडोर बगाउँदा कोरिडोर अवरुद्ध भएको हो ।

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यातायात बिच्छेद भएको छ । गत असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर २६ गते करिब तीन घण्टा संचालनमा आएको थियो ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नाय उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षाले गर्दा हालसम्म संचालनमा ल्याउन नसकेको उहाँको भनाइ छ । कोरिडोर बाहेक जिल्लाका अन्य सडक संचालनमा रहेको बुझेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “पानी पर्दा बित्तिकै माथिबाट पहिरो खस्छ, पहिराले सडकको छेउमा उठाएको खर्पाल एकै छिनमा बगाउँदा अहिलेसम्म संचालन गर्न सकिएको छैन, सडक मर्मत गर्ने काम त सुरु चएको छ तर, वर्षा नरोकिँदा समस्या परेको छ ।”

कोरिडोर अवरुद्ध सडक संचालनमा नआउँदा दक्षिण बागलुङसँग सिधा यातायात हुन सकेको छैन । यातायात संचालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् भने किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् ।

बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनु पर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का किसान राजन सापकोटाले बताउनुभयो । उहाँले सडक संचालन हुँदा दैनिक सात सय रुपैयाँमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केवलकारको प्रयोग गर्दै दुई हजार रुपैयाँ तिर्नु परेको गुनासो पोख्नु भयो । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेको सापकोटाले सुनाउनुभयो ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ?, हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ,” उहाँले भन्नुभयो – “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ, यसले त हामीहरु दोहोर मारमा छौँ, पहिले सात समयमै दूध बजारमा पु¥याइन्थ्यो, अहले दुई हजारले पनि पुग्दैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *