वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास

डम्मर बुढा मगर, बागलुङ
बर्खाले बाटो बन्द हुँदा बागलुङमा संचालित घरबास (होम–स्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा घरबासमा पाहुन जान छोडेका छन् । हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनाको संख्या शून्य छ । घरबास बागलुङको ग्रामीण क्षेत्रमा बढी संचालनमा रहेका छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।

अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन घरबासमा पुग्न चाहँदैनन् । बर्खाले गर्दा घर बाससम्म पुग्ने सडक तथा पदमार्ग हिलाम्मे बनेका छन् । बर्खाले गर्दा घरबाससँगै पर्यटकीय स्थल पनि सुनसान छन् । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुन जानछोडेपछि संचालकहरु खेतबारीको काममा व्यस्त भएका छन् । अब सडक राम्रोसँग नचल्दासम्म गाउँमा पाहुन पुग्ने छैनन् ।

जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शन्य भएको अतिथी सत्कार होम–स्टे बागलुङ नगरपालिका–१० भकुण्डेका संचालक यामबहादुर थापा मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म यहाँ आउने गरेको भन्दै वर्षाले सडक बिगारेपछि अहिले कोही पनि घरबासमा नआएको उहाँको भनाइ छ । हिउँदको समयमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको संख्यामा पाहुन भकुण्डे पुग्ने गरेको थापाले सुनाउनुभयो ।

उहाँले भन्नुभयो – “बर्खाले गर्दा गाउँमा आउने बाटो ठाउँ–ठाउँमा बिग्रिएको छ, बजार झेरेर उक्लिँदा निकै सास्ती हुन्छ, अरु बेला त यहाँ पर्यटकको राम्रो उपस्थिती हुन्छ, यो बर्खाको दुई÷तीन महिना खालीनै हुन्छ होम–स्टे, सररर गाडी चल्थ्यो भने, पदमार्ग पनि सजिलो हुन्थ्यो भने यो बेला पनि पाहुनको कमी हुने थिएन, तर के गर्ने सडकको दुरावस्थाका कारण होम–स्टे बन्द जस्तै भएका छन्, अरु बेला त पाहुनाको कमी हुने थिएन, जब असार लाग्यो त्यसपछि पाहुनको संख्या शून्य भयो ।”

काठेखोला गाउँपालिका–३ धम्जा स्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन् । बागलुङ बजारदेखि पश्चिममा पर्ने यस घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुन आउने गरेकोमा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताउनुभयो ।

अब असोज लागेपछि मात्रै घरबासमा पर्यटकको आगमन बढ्ने उहाँको भनाइ छ । बर्खाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडीहरु संचालन हुन नसकेको घर्तीले बताउनुभयो । पर्यटक आउन छोडेपछि अहिले आफूहरु आलु खन्ने, कोदो रोप्ने र पशुपालनमै व्यस्त रहेको उहाँ बताउनुहुन्छ ।

“यो ‘अफ’ सिजन भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्किने, ठाउँ–ठाउँमा फस्ने हुँदा यहाँ आउन चाहनेहरु पनि बीच बाटोबाटै फर्किनु हुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडक स्तरीय बनाइदिन्थ्यो भने बाह्रै महिना पाहुन भित्राउन सक्थ्यौँ” उहाँले भन्नुभयो – “अब पाहुना आउन त दसैँ तिहारको बेलादेखि हो, यो बर्खामा गाह्रो छ, हामीहरु पनि कोदो रोप्ने र आलु खन्ने चटारोमा छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *