विद्यार्थी संख्या घटेपछि क्याम्पसनै बन्द हुने स्थितीमा

डम्मर बुढा मगर, बागलुङ
३४ वर्ष अगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाई विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएको हो । हरेक वर्ष विद्यार्थी संख्या घटेपछि क्याम्पसको अस्तित्वनै संकटमा पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा वि.सं. २०७० सालसम्म विद्यार्थीको चाप थियो । दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन् ।

बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा वि.सं. २०४७ सालमा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हाँसिल गर्न पाएका थिए । तर पछि–पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो । दिनप्रति दिन विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पसनै बन्द हुने जोखिम बढेको छ । क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि संख्या बढ्न सकेको छैन । अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने मात्रै गरेका छन् । पुरुष विद्यार्थी निकै न्यून छन् ।

क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट संचालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताउनुभयो । हाल क्याम्पसमा एक जना पूर्णकालीन, दुई जना ९ जना आंशिक प्रध्यापक र कर्मचारी कार्यरत रहेको उहाँको भनाइ छ । अनुदान आयोगबाट वार्षिक ११ लाख ९० हजार आउने र क्याम्पसको एक करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस संचालन गरि रहेको पन्त बताउनुहुन्छ । क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उहाँको भनाइ छ । क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायको पढाइ हुने उहाँ बताउनुहुन्छ ।

“दश वर्ष अगाडिसम्म विद्यार्थीको संख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजारमा जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको संख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो” क्याम्पस प्रमुख पन्तले भन्नुभयो “केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले त १२ पास गर्न नपाउँदै विद्यार्थी सबै जापान, कोरिया, अष्ट्रेलिया जान्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए ।”

बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले ०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो संघर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताउनुभयो । पहिलेको जस्तो धेरै बच्चा जन्माउन छोडेपछि बालबालिकाको संख्या कम भएको र उनीहरु १२ पास हुँदा बित्तिकै गाउँमा नबस्ने हुँदा क्याम्पस संचालनमा समस्या आएको बताउनुभयो । गाउँमा बाह्र पास भएर पढाई छोडेकाहरुलाई पढ्नका लागि प्रोहोत्सान गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *