डोहेरीको बाँझो जग्गामा फलफुल रोप्दै विदेशी


खेमराज गौतम, बागलुङ

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहेरीगाउँ बसाईसराइको चपेटामा छ । बुढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाँझिदै गएको छ । खेतियोग्य जग्गामा निगाले, सल्लो र ऐशेलुको झाङ्ग उम्रिएको छ ।

यातयातको सुविधा समेत नपुगेको उक्त गाउँमा हिजो आज चहलपहल बढेको छ ।

विदेशीहरु लामबद्द भएर उक्त गाउँमा फलफूल बगैचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वंयसेवहरुले धमाधम फलफूलका बोटहरु लगाइरहेका छन् ।

विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेन्ज प्रोग्राम) अन्र्तगत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा धमाधम ओखर, एबोकाडा, कागती र टिमुर लगायतका फलफुलका बिरुवा विदेशी स्वयंसेवीहरुले बाँझो जग्गामा लगाइरहेको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले बताउनुभयो । आयआर्जन बढाउने र बातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने कार्य चलिरहेको छ ।

सडक सुविधा नपुगेको र बसाईसराइका कारण जमिन बाँझिदै गएपछि विदेशीको सहयोगमा अहिले ८०० फलफुलका बिरुवा लगाइसकेको बताउनुभयो ।

उहाँले एक हजार २०० ओखर, एबोकाडा लगायतका फलफूलका बिरुवा लगाउने योजना अनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्नेकार्य चलिरहेको शर्माको भनाई छ ।

“अहिले १४ जना विभिन्न देशका विदेशीहरु फलफुलका विरुवा रोप्न खटिनुभएको छ, स्थानीयहरुले सघाइरहेका छन्, हाल सम्म ४८ जना विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनिहरु आफै खाल्टो खन्छन् त आफै बिरुवा रोप्छन्” शर्माले भन्नुभयो “वडा कार्यालयको निरन्तरको समन्वय र सहकार्यमा बाँझो जग्गा छिट्टै फलफुल बगैचामा परिणत हुनेछ ।” ओखर र टिमुर लगाउने कार्य अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका विरुवा लगाउने तयारी भइरहेको छ ।

विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेन्ज प्रोग्राम) अन्र्तगत पिएसडी नेपालमार्फत विरुवा खरिद देखि रोपण सम्मको सम्पूर्ण खर्च व्यहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ ।

विरुवा रोप्नका लागि तीन महिना अघिनै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाई गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेम प्रसाद न्यूरेले बताउनुभयो ।

डोहेरी गाउँमा २२ घरपरिवार रहेपनि अहिले ८ घरमा मात्रै मानिस बस्दै आएका छन् । केही घरहरु खण्डहरु भएर भत्किएका छन् । बसाईसराइका कारण उजाड बनेको गाउँ हरीयाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाई छ । ओखर, कागती, टिमुर र एबोकाडाका लागि आवश्यक सिंचाई पोखरी समेत निर्माण गरिएको उहाँको भनाई छ ।

न्यूरले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र औसेलुको झाडी फाडेर ५५ ओखर र २०० टिमुरका बिरुवा लगाउनुभएको छ । कागती र एबोकाडा लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको बताउदै न्यूरेले गाउँभरमा एक हजार २०० भन्दा बढी बिरुवा लगाउने कार्यअन्र्तगत अन्तिम चरणमा पुगेको बताउनुभयो ।

भिमापोखरा वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसंग जोड्का लागि ओखर लगायतका बिरुवा रोप्न थालिएको बताउदै एक हजार २०० विरुवा लगाउन रु. १२ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ । केही फलफूलका विरुवा काठेखोला गाउँपालिका ३ माझकटेरामा समेत लगाउन थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *