बागलुङमा एक वर्षमा १२ हजार २३४ मिटर पदमार्ग निर्माण

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार २३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले पर्यटन पूर्वधार निमाणका लागि बागलुङमा छ करोड ४० लाख विनियोजन गरेको थियो ।

त्यस मध्ये तीन करोड ८५ लाखले पदमार्ग निर्माण गरिएको हो भने बाँकी बजेटले मठ मन्दिरसहितका पर्यटन संरचना निर्माण गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत जिल्लाको १० वटै पालिकामा पदमार्ग निर्माण र अन्य संरचना बनाइएको हो ।

गत वर्ष कुल योजना ७६ वटा योजना मध्ये ५२ वटा पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिकामा २० योजना सम्पन्न भएका छन् । यसका लागि रु दुई करोड ३५ लाख विनियोजन भएको थापाले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा १३ योजनाका लागि रु ९५ लाख, काठेखोला गाउँपालिकामा १५ योजनाका लागि रु ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि रु ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको बताउनुहुन्छ ।

प्रमुख थापाका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजनाका लागि रु ३० लाख, निसीखोला गाउँपालिकामा तीन वटा योजनाका लागि रु ३० लाख ढोरपाटन नगरपालिकामा चार योजनाका लागि रु २५ लाख, ताराखोलामा तीन वटा योजनाका रु ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि रु २५ लाख, तमानखोलामा एउटा योजनाका लागि रु १० लाख बजेट विनियोजन भएको र ति सबै योजना सम्पन्न भएको उहाँ बताउनुहुन्छ । थापाले प्रदेश सरकारले विनियोजन गरेको सत प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको जानकारी दिनुभयो ।

प्रमुख थापाले भन्नुभयो – “आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत संचालन गर्ने योजनाका लागि विनियोजित बजेट सबै सकिएको छ, हामीहरुले १०० प्रतिशत वित्तीय र भौतिक प्रगति ग¥यौँ, प्रदेशबाट आएका योजना मध्ये सबैभन्दा बढी पदमार्गका थिए, ति सबै योजना समयमै सक्यौँ ।”

गण्डकी प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला पूर्वधार चाहिने हुँदा त्यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो ।

पर्यटकलाई आकर्षित गर्नका लागि रमणिय ठाउँ मात्रै भएर मात्रै नहुँने भन्दै त्यहाँसम्म पुग्नका लागि पहुँच सहज हुनु पर्ने उहाँको भनाइ छ । थापाले गण्डकीका ११ वटै जिल्लामा पदमार्ग निर्माणमा जोड दिएको बताउनुभयो । पर्यटकीय गन्तव्यमा पुग्नका लागि सडकभन्दा पदमार्गनै निर्माण गर्नु पर्ने थापाको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *