बागलुङमा एकै वर्षमा एक अर्ब बढीको आलु उत्पादन

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय बागलुङका किसान आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । खास गरि जिल्लाको माथिल्लो क्षेत्रका किसान व्यवसायिक रुपमा आलु खेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलु खेतीका लागि उपयुक्त हुने हुँदा नयाँप्रबिधि अवलम्बन गरि आलु खेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रुपमा आलु खेती गर्दै आएका किसानले अहिले नयाँ प्रबिधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् ।

ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्नका लागि आलु खेतीतर्फ आकिर्षत गर्न थालेको हो । आर्थिक वर्ष २०८०/०८१ मा मात्रै १३६ हेक्टर नयाँ क्षेत्र आलु खेती विस्तार गरेको छ । ज्ञान केन्द्रले १५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरि दुई सिजनमा आलु उत्पादन हुने बागलुङमा वर्षेनी करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलु खेतीका लागि तीन करोड ६० लाख विनियोजन गरेको थियो ।

कृषि ज्ञान केन्द्रले ६८ वटा कृषि समूह तथा कृषि सहकारीमार्फत डढ सय हेक्टर नयाँ क्षेत्रमा आलु खेती विस्तार गरेको हो । बागलुङको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोला लगायतका क्षेत्रमा बढी आलु उत्पादन हुने हुने गरेकोमा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलु खेतीतर्फ चासो दिन थालेका छन् ।

आलु खेती तर्फ किसानाको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो । अघिल्लो वर्षमा मात्रै जिल्लामा एक अर्ब ३४ करोडको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा यस वर्ष बढेर यस वर्ष तीन हजार ७८० हेक्टर पुगेको छ ।

जिल्लामा प्रति हेक्टर १६.५ टन आलु उत्पादन हुने उहाँको भनाइ छ । गत वर्ष ५९ हजार ६५० टन उत्पादन भएको प्रमुख सिलवालले बताउनुभयो । उहाँका अनुसार हिउँदे आलु प्रति किलो ४० रुपैयाँ र बर्खे आलु प्रति किलो ५० रुपैयाँमा विक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने सिजन सुरु हुन थालेको सिलवालले बताउनुभयो । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उहाँको भनाइ छ ।

“आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रुपमा आलु खेती गर्दै आउनु भएका किसानहरु अहिले प्रबिधिसँग जोडिन थाल्नु भएको छ, उन्नत जातका आलु लगाउन थाल्नु भएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, बागलुङ, पोखरा, बुटवल लगायतका ठाउँमा पुग्ने गरेका छन्” प्रमुख सिलवालले भन्नुभयो – “यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।”

काठेखोला गाउँपालिका–३ का कृषक ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलु खेती गर्दै आएकोमा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बागलुङले आलु खेतीका लागि उन्नतजातको बिउसमेत अनुदानमा दिएको भन्दै गाउँमा आलु खेती राम्रो भएको उहाँको भनाइ छ । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष धेरै किसानहरु आलु खेती गर्न तर्फ लागेकोे छन्त्यालले सुनाउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *