फेँद कुहिने रोगले धान मर्न थालेपछि किसान चिन्तित

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा फेँद कुहिने रोगको प्रकोपले धान मर्न थालेपछि किसान निरास बनेका छन् । धान रापेको एक महिनामै जरा कुहिएर मर्न थालेपछि धेरै किसानमा त्रास छाएको छ । धानको फेद कुहिने डाँठ पहेलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राबिधिकको टोलीनै खटिएको छ । जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धान बाली कुहिएर नष्ट नहुन थालेको हो ।

किसानले धान कुहिएर नष्ट हुन थालेपछि कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । प्राबिधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाई नियन्त्रणमा लागेको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिनुभयो । धान मर्न थालेपछि धेरै ठाउँबाट कृषकले फोन गरेपछि आफूहरु ‘फिल्ड’मै पुगेर रोग पत्ता लगाएको उहाँको भनाइ छ । अधिकारीका अनुसार बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा ‘फेँद कुहिने रोग’ लागेको छ ।

रोगको पहिचान भएपछि किसानलाई धुसीनासक विषादी कार्वन्डा प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उहाँ बताउनुहुन्छ । रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नु पर्ने अधिकारीले जानकारी दिनुभयो । यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उहाँ बताउनुहुन्छ ।

अधिकारीले भन्नुभयो – “किसानको गुनासो आएपछि हामीहरु धेरै ठाउँमा पुगेर अध्ययन गरि रहेका छौँ, जहाँ पुगेका छौँ, त्यो ठाउँमा एकै नासको लक्षण देखिएको छ, यो फेद कुहीने रोग हो, बलेवा, पैयुँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमै नियन्त्रण भएन भने उत्पादनमा धेरै गिरावट आउने देखिन्छ, हामीहरु गम्भीर भएर लागेका छौँ, फिल्डमै पुगेर काम गरि रहेका छौँ ।”

असार दोस्रो साता लगाएको धान अहिले पुरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताउनुभयो । फेँद कुहिने रोगले धान सखाप भएको भन्दै यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उहाँको भनाइ छ । एक हप्ता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेलले बताउनुहुन्छ । धेरै वर्षपछि धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।

“बेलामाथि पानी प¥यो र रोपाइँ गरियो, अहिले जाग्ने बेलाको धान धमाधम दरा सुकेर मर्न थालेको छ, यो बेला धान म¥यो भने ठूलो क्षति बेहोनु पर्छ, प्राबिधिकहरुलाई पनि खबर गरेका थियौँ, बागलुङबाट आएर हेर्नु भयो” पौडेलले भन्नुभयो – “बिउमा खराबी भएर हो की, मलमा खराबी भएर हो यस्तो समस्या धेरै वर्ष अगाडि एक पटक आएको थियो, अहिले फेरि यो रोग देखियो, प्राबिधिकहरुले हरेर त जानु भयो अब केही समाधान आउँछ कि भन्ने आशा छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *