‘मगर खाम भाषा’ संकटमा पर्न थालेपछि बुढापाका चिन्तित

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा बोलिने ‘मगर खाम भाषा’ संकटमा पर्ने जोखिम बढेको छ । बढ्दो सहरीकरण विदेश पलायनका कारण भाषा संकटमा पर्दै गएको हो । आठार मगरात अन्तरगत बागलुङको निसीखोला गाउँपालिका– ५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थाल्दा ‘मगर खाम भाषा’ कम बोल्न थालिएको हो ।

पछिल्लो समय गाउँमा बुढापामा पुस्ता मात्रै बस्ने र उनीहरुले मात्रै यो भाषा बोल्ने गरेका छन् । दशक अगाडिसम्म ढोरपाटन नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा पनि खाम भाषा बोल्ने गरे पनि अहिले त्यहाँ यो भाषा बोलिदैन । बिस्तारै निसीखोलामा पनि त्यो स्थिती आउन सक्ने भन्दै बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बुढापाका बताउँछन् ।

यसलाई संरक्षण गर्नु पर्ने दायित्व स्थानीय सरकारको भएको उनीहरुको भनाइ छ । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । पहिले–पहिले लेकबेसी र घाँसदाउरा गर्दा मगर खाम भाषामै गीत गुनगुनाउने गरे पनि अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ । मगर खाम भाषा आफ्नो मगरहरुको पहिचान भएको उनीहरु बताउँछन् ।

एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गरे पनि अहिले निकै कम भएको निसीखोला गाउँपालिका–६ का भक्तबहादुर बुढा मगरले बताउनुभयो । कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो भाषा रहेको उहाँको दाबी छ ।

गाउँमा विकास आएपछि धेरैले मगर खाम भाषा बोल्न छोड्दै गएको बुढा मगरको भनाइ छ । ७१ वर्षीय बुढा मगरले आफ्ना छोराहरुले यो भाषा राम्रोसँग बोल्न सक्ने भए पनि नाति पुस्ताले बोल्न छोडेको उहाँ बताउनुहुन्छ ।

“हाम्रो बाउ बाजेले नेपाली भाषा भन्ने खस भाषा बोल्न जान्दैनथे, सबै खाम भाषामा बोल्ने गर्थे, हामीहरुले पनि उहाँहरुले जस्तै बोल्दै आयौँ, पछिपछि नेपाली भाषा पनि बोल्न थालियो, अहिले त युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्,” उहाँले भन्नुभयो – “हामीहरु त गाउँमै जन्मियो, गाउँमै हुर्कियो र गाउँमै गरि खाइयो, त्यही भएर हाम्रो भाषा बोल्दै आयौँ, अहिले त जन्मदा बित्तिकै सहर बजार झर्छन्, उति बस्ने, उतै पढ्ने गर्दा भाषा पनि उतैको बोल्छन्, त्यसले गर्दा हाम्रो भाषा हराउँदै गयो ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाटै लाग्ने बताउनुभयो । गाउँपालिकाले मगर खाम भाषामा पाठ्यपुस्त तयार गरेको र भदौ महिनादेखि पठनपाठन थाल्ने योजनामा रहेको उहाँको भनाइ छ ।

यो भाषा संरक्षणका लागि राज्यले नै प्राथमिकता दिनु पर्ने अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाउँपालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्नका लागि प्ररित गर्न समुदायबाटै लाग्ने उहाँले बताउनुभयो । पहिलो जम्मेवारी परिवारको भएको हुँदा परिवारलाई पनि आफूहरुले जिम्मेवार बनाउन थालेको अध्यक्ष मगर बताउनुहुन्छ ।

अध्यक्ष घर्ती मगरले भन्नुभयो – “अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागु गर्ने योजना थियो, प्रबिधिक कारणले गर्न सकिएन, यस वर्ष जसरी पनि गर्छौँ, बालबालिकालाई खाम भाषामै सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने काम हुन्छ, जसका लागि शिक्षकको समस्या छ, शिक्षक व्यवस्थापन गरेर पठनपाठन हुन्छ, यसले पनि भाषा संरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *