पहिरोको विकल्पमा पक्की पुल

आदर्श अनलाइन, बागलुङ
तीन वर्ष अघिदेखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० गलुवा स्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ट्रयाक बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारीसाधन बर्खामा चल्न सक्दैनन् । २०७८ सादेखि खस्न थालेको पहिरो प्रत्येक वर्ष बढ्दै गएपछि बर्खामा सडक सम्पर्क टुट्दै आएको छ । विकल्पका रुपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न सर्वेक्षण थालिएको छ ।

पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो ।

गलुवा स्थित दब्ल्याङको पहिरो वर्षेनी बढ्दा यो वर्ष कालीगण्डकी करिडोरको समेत ट्रयाकनै बगाएको छ । सडक बगाएपछि त्यसको विकल्पको रुपमा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेटनै व्यवस्था गरेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारले गरेको पहिरोको अध्ययनमा कमजोजर जमिनमा बनाइएको सडकमा पानीको भल तर्काउन नसक्दा पहिरो गइरहेको हुँदा रोकथामका लागि रु. १८ करोड खर्चलाग्ने डीपीआर तयार भए पनि काम अगाडि बढ्न नसक्दा पुल निर्माण गर्न थालिएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले बताउनुभयो । पर्वतकोे सहस्रधाराबाट सोझै करिडोर जोड्न पक्की पुल निर्माण गर्नका लागि सर्वेक्षणको काम शुरु भएको सांसद सुवेदीको भनाई छ ।

प्रदेश सरकारले पुल निर्माणका लागि रु. २५ करोड लागत अनुमान गरी चालु वर्षका लागि रु. ५ करोड विनियोजन गरेको छ । पुल निर्माण यसै वर्षबाट थाल्ने बजेटमा उल्लेख गरेपछि पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुषाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेल लगायतले बुधबार पुल निर्माण गर्ने स्थानको अध्ययन गरिएको सुवेदीले जानकारी दिनुभयो ।

“पहिरो नियन्त्रमा गत वर्षको अध्ययनले रु. १८ करोड खर्च लाग्ने भनिए पनि अहिलेको वर्षातमा थप १०० मिटरभन्दा बढी पहिरो थपिएका कारण पहिरो नियन्त्रणमै रु. ३० करोड लाग्ने, नयाँ ट्रयाकको विकल्प नदेखिएका कारण सोझै कालीगण्डकी नदीमाथी पक्की पुल हाल्नका लागि चालु आर्थिक वर्षमै काम शुरु गर्ने गरी अध्ययन थालिएको छ” सांसद सुवेदीले भन्नुभयो “दक्षिण बागलुङका जनताले सडक अवरुद्ध हुँदा उपचारसमेत नपाउने अवस्थामा प्रदेश सरकार गम्भीर बनेर कालीगण्डकीमा पक्की पुल हाल्न बजेट विनियोजन गरेको छ, अध्ययनको काम गर्न अझै एक महिना लाग्छ होला, त्यसपछि पुलको डिजाईन गरेर फाष्ट ट्रयाकमा पुल बनाउने गरी ठेक्कामा जानेछ ।”

गलुवा स्थित दब्ल्याङमा पहिरो रोकथाम गर्न गत वर्ष गण्डकी प्रदेश अन्र्तगत रु. ५० लाखले पानी तर्काउने काम भएको थियो । पहिरोबाटै सडक सञ्चालनमा ल्याउनका लागि भूगर्भविद्को समूहले नौ दिन लगाएर गरेको अध्ययन तथा पहिरोको एक्सरेबाट दब्ल्याङ क्षेत्रमा १५ देखि ३० मिटर भित्र मात्रै कडा चट्यान देखिएको र बाहिरको कमजोर माटोमा संरचना बनाउन जोखिम रहने बताएपछि अन्तिम विकल्पका रुपमा पक्की पुलनै गण्डकी प्रदेशको प्राथमिकतामा परेको प्रदेशसभा सदस्य कृष्ण पाठकले बताउनुभयो ।

पहिरोको विकल्पका रुपमा निर्माण गर्न लागिएको पक्की पुल पर्वत जिल्लाको मध्यपहाडी लोकमार्गको सहस्रधाराबाट सोझै कालीगण्डकी नदीमाथीबाट करिडोरमा पुग्नेगरी निर्माण गरिने पाठकको भनाई छ । माटोको सामान्य अध्ययन नगरी सडक निर्माण गर्दा राज्यको ठूलो रकम नोक्सानी तथा जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पक्की पुल बनाउन थालिएको हो । पटक–पटक अवरुद्ध सडक खुलाउनमात्रै बागलुङ नगरपालिकाले लाखौं रकम खर्च गरि सकेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *