‘साथीहरुले साथ छोडे, तर हिम्मत हारिन’

आदर्श अनलाइन, बागलुङ
कतारमा छदै व्यावसायिक बन्ने सपना बुन्नुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फर्ममा अहिले तीन हजार लियर्स जातका कुखुरा रहेका छन् । ६ हजार कुखुरा पाल्ने फर्म स्थापना गर्नुभएका शर्माले तीन हजार चल्ला थप्ने तयारीमा हुनुहुन्छ । ग्रिन ल्याण्ड बहुउदेश्यीय कृषि फर्म प्राली स्थापना गरेर सञ्चालनमा ल्याइएको कृषि फर्म कालीमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । यहाँको बाँझो र खेतीयोग्य दुबै जग्गा खरिद गरेर फर्म सञ्चालनमा ल्याइएको हो ।

कालीमाटीको ४३ रोपनी जग्गा खरिद गरेर अण्डा उत्पादनका लागि कुखुरापालन, गाई र बाख्रा देखि खेती गर्न थालिएको पाँच वर्ष भइसकेको छ । सामुहिक रुपमा थालिएको कृषि फर्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आउनुभएको छ ।

रोजगारीका लागि १२ वर्ष कतारमा बिताउनुभएका शर्माले नेपालमा कृषिमा ठूलो संभावना देखेको बताउनुभयो । २५ जना मिलेर कृषि फर्म खोल्न कतारमा छदै पूँजी रकम जम्मा गरेको बताउदै शर्माले अन्तिममा कसैले साथ नदिएपछि आफै फर्म सञ्चालन गर्दै आएको बताउनुभयो ।

“कृषि तथा पशुपालनमा संभावना र जोखिम उस्तै छ, २५ जना मिलेर कतारमा मासिक १०० रियल जम्मा पार्दै आएका थियौ, हाम्रो योजना ठूलो लगानीमा कृषि फर्म खोल्नु थियो, तर गाउँका साथीहरु जग्गा खरिद गर्ने समयमा घटेर १२ जनामा सिमित भइयो, फर्म स्थापना भइसक्दा पाँच जना थिए, उनिहरुले समेत आफ्नो रकम झिकेर लगेपछि तीन वर्ष देखि एक्लै फर्म सञ्चालन गर्दै आएको छु” शर्माले भन्नुभयो “कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण रहेछ, छ महिना सम्म हुर्काएका कुखुराले अण्डा दिन थालेपछि बल्ल आम्दानी हुन्छ, त्यस समयसम्म लगानी मात्रै गर्ने हो, बजार अस्थिर छ, अण्डाको मुल्यमा उताड चढाव हुन्छ तर हिम्मत हारियन अहिले फर्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फर्मका रुपमा चिनाउन थालेको छु ।”

साथीहरुले साथ छोडेपनि आफूले हिम्मत नहारेको बताउदै लगानी थपेर रु. एक करोड ५० लाख पु¥याएको बताउनुभयो । बागलुङमा अण्डाको उत्पादन बागलुङमै खपत हुने गरेको छ । अण्डा बजारीकरणमा समस्या नभएपनि मुल्यमा आउने गिरावटले समस्या पार्दै आएको बताउनुभयो । कतारमा कमाएर संकलन गरेको रकमबाट राम्रो व्यवस्थापनमा कृषि फर्म सञ्चालनको उदेश्य राखेर फर्म स्थापना गरेपनि साथीहरुले साथ नदिदा एक्लै फर्म समाल्न थालेको बताउनुभयो ।

उहाँलाई श्रीमतीले साथ दिइराख्नुभएको छ । शर्माको फर्ममा प्रत्यक्ष रुपमा चार जनाले रोजगारी समेत पाइरहेका छन् । शर्माको फर्ममा अहिले दैनिक तीन हजार अण्डा उत्पादन भएर बागलुङ बजारमा खपत भइरहेको छ ।

“कतारमा कमाएको रकम यही फर्ममा लगानी गरेको छु, बागलुङ बजारमा अण्डा बिक्रि कक्ष समेत छ, कालीमाटीको चिसो हावापानीमा हुर्केका कुखुराको अण्डा बजारमा खोजी–खोजी उपभोक्ताले खरिद गर्छन, कहीलेकाही आयत गरिएको अण्डासंग प्रतिस्प्रधा भने गर्न सकिदैन” शर्माले भन्नुभयो “२५ जना मिलेर सञ्चालनमा ल्याउने भनेको फर्म एक्लै सञ्चालन गर्दा समेत हिम्मत हारेको छैन, साथीहरुको साथ नपाएपनि उपभोक्ताको साथ छ, अण्डाको व्यापारमा कुनै समस्या छैन ”

एक पटक हालिएका तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन मात्रै रु. २५ लाख खर्च लाग्ने बताउदै कुखुरा पाल्ने काम बढी जोखिमपूर्ण रहेको अनुभव शर्माले सुनाउनुभयो । शर्माले बिस्तारै फर्ममा बाख्रा र गाई थप्न थालेको जानकारी दिनुभयो । शर्माको कृषि फर्ममा तीन गाई, १० वटा पालिएको बताउदै बाख्रापालनलाई थप बिस्तार गर्ने योजनामा शर्मा हुनुहुन्छ । कुखुराको जोखिम घटाउनका लागि पशुपालनले सघाउने शर्माको निश्कर्ष रहेको छ ।

“फर्म खोल्ने भनेरै गाउँका साथीहरु मिलेर कतारमा रकम जम्मा गर्दा २५ जना थियौ, जग्गा खरिद गर्दा १२ जनामा सिमित भयौ” उहाँले भन्नुभयो “फर्म सञ्चालनमा आउदा साथीहरु बिस्तारै साथ छोड्दै पाँच जनामा सिमित थियौं, फर्म सञ्चालनमा आउदा उनिहरुले समेत साथ छोडे तर मैले हिम्मत हारिन एक्लै फर्म सञ्चालन गरिरहेको छु, कहिले नाफा हुन्छ, कहिले घाटा हुन्छ तर कर्म गर्न छोड्न हुँदैन ।”

अहिले २१० थान अण्डा रहेको एक कार्टुनलाई रु. तीन हजार ८०० बजार मुल्यमा बिक्रि गरिरहेको बताउदै विक्रिका लागि सवारीसाधन समेत आफ्नै रहेको शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *