ढोरपाटनमा थपिदै होटल सुविधा

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय ढोरपाटन पुग्ने र बुकी चढ्नेको लहडनै चलेको छ । एक दशक अगाडिसम्म जनैपूर्णिमामा ढोरबराहमा पूजाआज गर्न बाहेक अन्य बेला ढोरपाटन जानेको संख्या न्यून थियो । जनैपूर्णिमामा देशैभरबाट हजारौँ भक्तजन पूजाआजा गर्न जाँदा बास बस्ने होटलको सुविधा थिएन । कोही गोठमा स्याउला बिच्छाएर बस्थे त कोही रातभर जागराम बस्ने गर्थे । तर अहिले त्यो परिस्थिती फेरिएको छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा होटल तथा रेष्टुरेण्ट संचालनमा आएका छन् । दर्जनौँको संख्यामा संचालनमा आएका होटलले ढोरपाटन पुग्ने पर्यटकालाई खाने र बस्ने बस्नेको सुविधा दिन थालेका छन् । जसले गर्दा यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको छ । दशक अगाडि ढोरपाटन पुग्ने हरकोहीलाई कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो ।

पशुचौपाया र बर्खे खेती गर्नका लागि उपत्यका पुगेका अधिकारीचौर र बोबाङवासीको गोठमा धेरैले बास पाउन मुस्किल हुने गरेकोमा अहिले त्यो अवस्था हटेको छ । केही वर्ष यता बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेपछि धमाधम होटल तथा घरबास (होम–स्टे) संचालनमा आइरहेका छन् । दैनिक पर्यटकको संख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा धेरै होटल तथा घरबास संचालनमा आएका छन् ।

होटल संचालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नु परेको छैन । स्थानीयसँग बाहिरबाट समेत ढोरपाटन पुगेर होटल व्यवसाय गर्नेको संख्या बढ्दै गएको हो । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथरमा होटलहरु निर्माण भएका छन् । ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन कुमार पुन मगरले वि.सं. २०६० साल अगाडिसम्म ढोरपाटनमा कुनै पनि होटल नभएको सुनाउँदै वि.सं. २०७५ साल यता हरेक वर्ष नयाँ होटल थपिदै गएको जानकारी दिनुभयो ।

उतिबेला जनैपूर्णिमामा आउने हजारौँ दर्शनार्थीले खुला आकाश मुनी रात बिताउने गरेको सुनाउँदै अहिले त्यो अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । बराह मन्दिरमा आएका दर्शनार्थीहरु स्यालपाखे, नवी, पाखाथर, उत्तरगंगा, भूजी लगाएको ठाउँमा गएर बस्न सक्ने अध्यक्ष पुन मगर बताउनुहुनछ ।

उहाँले भन्नुभयो – “पहिला जनैपूर्णिमा बाहेक अरु समयमा खास्सै पर्यटक आउँदैनथे, होटलको सुविधा पनि थिएन, भक्तजनहरु कोही पशुचौपयाको गोठमा बस्ने धेरै जसो बाहिर बस्थे, हामीहरु पनि बाहिरै रातभरी काम्लो (भेडाको रौँको कपडा) ओडेर बस्थ्यौँ, पहिलेको जस्तो गोठमा बस्ने स्थिती छैन, सामान्य भए पनि अहिले होटल संचालनमा छन्, ढोरपाटन उपत्यकामा अहिले होटल र होमस्टे गरेर ३४÷३५ वटा छन्, जसोतसो म्यानेज गर्छौँ भन्ने लाग्छ ।”

शनिबारदेखिनै ढोरपाटनमा पुग्ने भक्तजनको घुइँचो लागेको बडिगाड गाउँपालिकाबाट गएर होटल व्यवसाय संचालन गर्नु भएको श्यामलाल घिमिरेले जानकारी दिनुभयो । आइतबार दिउसोसम्म यहाँ संचालित सबै होटल भरिभराउँ हुँदा पाहुनालाई स्थानीयको घरमा समेत व्यवस्थापन गर्न थालिएको उहाँको भनाइ छ । आफूले मात्रै करिब ४० जना पाहुनालाई बास दिएको सुनाउँदै मंगलबारसम्म थेगि नसक्नु भिड हुने घिमिरे बताउनुहुन्छ । अहिले ढोरपाटन पुग्ने कोही पनि पाहुना गोठमा बस्नु पर्ने स्थिती नरहेको उहाँको भनाइ छ ।

“यो होटल व्यवसायीहरुका लागि ठूला चाडनै हो, किनकी यति बेला ढोरपाटनमा दशौँ हजारौँ धार्मिक पर्यटकहरुको आगन हुन्छ, अरु बेला निरन्तर आए पनि यतिको भिड हुँदैन, पूर्णिमा सकियो भने जलजला, छुन्तुङ, माथि बुकीपाटन लगायत ठाउँमा जाने पर्यटक आउँछन्” उहाँले भन्नुभयो – “पहिलेको तुलनामा अहिले धेरैलाई सहज भएको छ, होटलहरु थपिने क्रममा पनि छन्, होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिदै आएका छन्, पछिल्लो समय ढोरपाटनको प्रचार भएर होला मान्छे आउने क्रम बढ्दो छ ।”

ढोरपाटन नगरपालिका–९ का स्थानीय पदमबहादुर पुनले यहाँ संचालनमा आएको होटलले पर्यटकलाई सहज बनाई दिएको बताउनुभयो । उच्च पहाडी क्षेत्र भएको हुँदा बाह्रै महिना यहाँको हावापानी चिसो हुँने र बस्ने बास गतिलो नपाउँदा पहिले धेरैले दुःख पाएको बताउनुभयो । अब सरकारले बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटर सडक स्तरोन्नती गरि दिए ढोरपाटनमा आउने पर्यटकको संख्या दोब्बरले वृद्धि हुने पुन बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *