भैरवस्थानमा हरेलो मेला

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध धार्मिक स्थल कालभैरव मन्दिर परिसरमा तीन वर्षदेखि होरेलो मेला लाग्दै आएको छ । यस वर्ष पनि मंगलबार होरेलो मेला लागेको हो । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि होरेला मेला गरिदै आइएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा हुँदै आएको छ ।

हरेलो तीन वर्ष अगाडिसम्म बलेवा क्षेत्रका स्थानीयले पर्वकै रुपमा मनाउँदै आएका थिए । तर पछिल्लो तीन वर्षदेखि मेलाका रुपमै मनाउन थालिएको छ । खास गरि होरेलो जेठ असारमा रोपेको धानमा मुसा, किरा, फट्याङ्ग्रा नलागोस्, बाली नमासियोस्, र बाली राम्रो उत्पादन होस् भनि स्थानीयले कामना गरि हरेलो पर्व मनाउँदै आइएको बागलुङ नगरपालिका–१२ का अध्यक्ष कोपीलामणी शर्माले जानकारी दिनुभयो । यसलाई प्रकृतिको पूजा भन्ने गरिएको उहाँको भनाइ छ ।

खेतबारीमा खनजोतको काम हरेलो गर्नु अगावै सक्नु पर्ने मान्यता रहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन रहेको उहाँको भनाइ छ । बागलुङ नगरपालिका– १० भकुन्डे, ११ रायडाँडा, १२ अमलाचौर, १३ पैयुँपाटा, १४ नारायणस्थान र जैमिनी नगरपालिका– १ नागरिकहरुले वर्षौँ पहिलादेखि नै हरेलो पर्व मनाउने गरेको भन्दै अहिले यसलाई मेलाका रुपमा गर्न थालिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यो हरेलो मेला भनेर अहिले सुरु भएको हो, अहिलेसम्म बलेवा क्षेत्रका नागरिकहरुले बाली लगाई सकेपछि खास गरि धान, कोदो लगाएपछि बाली सप्रियो भनेर कामना गरि पूजा गरि पर्वका रुपमै बनाउउँदै आएका छन्, बालीनाली राम्रो होस्, भनेर पिठोको किरा फट्याङ्ग्रा, सर्प, भ्याकुता, चरा मुसा बनाएर झ्याँक्रोमा ध्वजा बाँनेर खेत र बालीको ढिलमा गएर पूजा गर्ने गरिन्छ, यसलाई हरेलो पर्वका रुपमा लिँदै आएका छौँ ।”

कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’ गर्दै आएको भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनुभयो । मेलाले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने उहाँको भनाइ छ ।

मेलालाई सम्बोधन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने भने पनि वर्षाका कारण उहाँ उपस्थित हुन सक्नु भएन । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकलले मौलिक कला, संस्कृति र परम्पराले मानव जातीको पहिचान बोकेको भन्दै अब यसलाई पर्यटनसँग जोड्ने बताउनुभयो । स्थानीय स्तरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले बोल्नु भएको थियो । मेलामा कलाकार जीवन दाहाल, रेशम निर्दोश, आशा बिसी, सीता परियार लगायतको संगितीक प्रस्तुती रहेको थियो ।

मेलामा बागलुङसहित पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट आएका दर्शनार्थीको ठूलो भिड लागेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *