डेंगी बढेपछि बागलुङमा खोज र नष्ट गर अभियान


आदर्श अनलाइन, बागलुङ
बागलुङमा डेंगी संक्रमण बढेपछि खोज र नष्ट गर अभियान थालिएको छ ।
बागलुङमा डेंगीे संक्रमण तिव्र रुपमा फैलिएपछि खोज र नष्ट गर अभियानलाई बुधबारदेखि जिल्लाभर अभियान थालिएको छ ।

जिल्लामा बुधबारसम्म ६८ जनामा डेंगी संक्रमित पुष्टी भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । साउन यताको तथ्याङ्कका आधारमा बागलुङका १० पालिका मध्ये गलकोट नगरपालिकामा मात्रै ४९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम शर्माले जानकारी दिनुभयो ।

डेंगी संक्रमित बढेपछि जिल्लाभर खोज र नष्ट गर अभियान थालिएको शर्माको भनाई छ ।
छोटो समयमा संक्रमित बढेपछि लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान चलाउन शिक्षक, विद्यार्थी, आमा समूह, टोल सुधार समितिसहित जनप्रतिनिधि र कर्मचारीलाई बुधबारदेखि परिचालन गरिएको छ । बुधबा बिहानै जिल्ला प्रशासन कार्यालय बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालयले संयुक्त रुपमा खोज र नष्ट अभियान अन्र्तगत बागलुङ बजार सरसफाई गरेका थिए । सरसफाईसंगै सचेतनाका लागि घर घर पुग्ने अभियानलाई तिब्रता दिइएको छ । बजार क्षेत्रमा बढी डेंगी संक्रमण देखिने भएकाले बागलुङ बजार, गलकोट बजार, भिमगिठे बजार, बुर्तिबाङ बजार लगायतका क्षेत्रमा सरसफाई गर्ने लार्भा नष्ट गर्नेकार्य थालिएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयमा प्रार्थनाको समयमा ५ मिनेट डेंगी संक्रमण बारे प्रशिक्षण गराउने, गमला, बाल्टी, ड्रम र टायरमा जमेको पानी फाल्ने तरिका सिकाउने, सरसफाइका अन्य तरिका र लामो बाहुला भएको कपडा लगाउन सिकाउन जनशक्ति तयार बनाइएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित गलकोटमा छन् । बजार क्षेत्रमा फालिने टायर र खाली भाडामा पानी जमेर लामखुट्टेको लार्भा उत्पादन भएको पाइएकाले गलकोटमा डेंगी सेचतनालाई तिब्रता दिइएको गलकोट नगर स्वास्थ्य शाखा प्रमुख सुसिल पौडेलले बताउनुभयो ।
डेंगी संक्रमण बढेकै कारण स्थानीय पालिका संग सहकार्य गरेर खोज र नष्ट गर भन्ने नारासहित बृहत अभियान शुरु गरेको छ । यो अभियानमा अटेर गर्ने मोटर ग्यारेज लगायतका स्थानमा प्रहरी लगाएर भएपनि सरसफाइ गर्ने योजना सहित प्रशासनले अगुवाई गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

बागलुङ नगर भित्र बुधबारदेखि थालेको सरसफाई अभियानलाई शुक्रबार सम्म निरन्तरता दिने, कार्यालय वरपर सरसफाई गर्ने, सडक नाली सफा गर्ने, हरेक साता शुक्रबार बृहत सरसफाइ गर्ने, टोल सुधार समिति र विद्यालय तथा सामाजिक संस्थाले नियमित रुपमा आफ्नो घर वरपर सफाइ गर्ने तालिका अनुसार अभियान थालिएको छ ।

हरेक नागरिकलाई घरघरमा सफाइ गर्न प्रेरित गर्ने र सार्वजनिक स्थलमा अभियानका टोली परिचालन गरिने भएको हो । धौलागिरि अस्पतालमा मात्रै १३ जना गम्भिर बिरामी भर्ना भैसकेका छन् भने अन्य स्वास्थ्य संस्थामा धेरैले उपचार गराएका छन् ।

जिल्लाभर फैलिएको डेंगी संक्रममा गलकोट नगरपालिकामा ४९, बागलुङ नगरपालिकामा ७, जैमिनी नगरपालिकामा ३, ताराखोला गाउँपालिकामा २, ढोरपाट नगरपालिकामा २, बडिगाड गाउँपालिकामा १ र अन्य जिल्लाका ४ जना गरी ६८ जनामा डेंगी पुष्टी भएको हो ।

डेंगी भएका बिरामीलाई अत्याधिक ज्वरो आउने र औषधी खाएर पनि भित्री अंगमा रक्तश्राव हुने हाँदा सञ्चो भएजस्तो भएपछि पनि बिरामी गम्भिर बन्ने र मृत्यु समेत हुन सक्ने भएकोले नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्ने बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *