खेमराज गौतम, बागलुङ
गालामा अनेकथरी पोतिएको रङ्ग, शिरमा श्रीराम लेखिएको रातो पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्चर जोडेर हनुमान जस्तै देखिने एक हुल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिड्छन् ।
एक आपसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरु २६ जना युवाहरु १० तालको शुरुमा नाच्दै हिड्ने परम्परा यहाँका नेवार समुदायले झण्डै तीन सय वर्ष देखि बचाउदै आएका छन् ।
नाचको बीच–बीचमा हनुमानहरुलाई बीर चढ्छ । उनिहरु अचेत जस्तै बनेर हल्लन्छन् । नाचमा सहभागी पुजारीले बीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । यसको पुजाबिधिका कारण हनुमानहरुलाई लाग्ने गरेको हुन्छ ।
दुई दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रुपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो भने मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रुपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारीले बताउनुहुन्छ ।
उक्त नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकको रुपमा रहेको हुनमानरहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजारपरिक्रमा संगै बागलुङ नगरपाकिला–४ उपल्लाचौर स्थित राम मन्दिर परिक्रर्मा गरेर फर्कने राजभण्डारीको भनाई छ ।
तीन सय वर्ष पुरानो हनुमान नाच बागलुङमा देखाउन थालिएको छ । बागलुङका नेवार समुदायले संरक्षण गरेर राखेको हनुमान नाच नौं वर्षपछि विधिवत रुपमा नाच्न थालिएको हो ।
भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ ।
बीचमा हरायको नाचले वि.सं २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट शुरु हुने उक्त नाच बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मंगलबारबाट शुरु गरिएको हनुमान नाच चैत सम्म नाचिने नाच हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ ।
नौ वर्षपछि हनुमान नाच
३ वर्ष, ५ वर्ष, ७ वर्षमा नाचिने हनुमान नाच यसपटक कोरोना करह लगायतका कारण ९ वर्षमा नाचिएको हनुमान नाच मुल व्यवस्थापक (प्रधान कजी) इश्वर मलेपतीले जानकारी दिनुभयो । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ ।
बागलुङका नेवार समुदायले आफ्नो ऐतिहासिक संस्कृति लोप हुन लागेको भन्दै पुन नौ वर्षपछि भएपनि व्यूँताएको बताएका छन् । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरु साउन महिनाबाटै यसको तयारीमा जुटेका थिए ।
कम्तिमा १३ र बढीमा १५ जोडी युवाहरु हनुमानको भेष धारी नाच्ने यो नाच पौराणिक रामायणको कथामा आधारित रहेको छ । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रुपमा अगाडी सारिएको हनुमान नाच संरक्षण परिषद बागलुङका अध्यक्ष तिर्थप्रसाद श्रेष्ठले बताउनुभयो ।
बागलुङ नगरपालिका ३ नारायणचोकको भिमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत रुपमा हनुमान नाच शुभारम्भ हुने मुल व्यवस्थापक इश्वर मलेपतीले बताउनुभयो ।
“नौं वर्षपछि विधिवत रुपमा हनुमान नाच देखाउन शुरु गरिएको छ, यो चैत सम्म चल्छ, अब मागका आधारमा टोल पुजामा हनुमान नाच देखाइन्छ, कुनै समय एक वर्ष नाच लम्किएको समेत अनुभव छ, यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” मलेपतीले भन्नुभयो “यो हनुनमा नाच रामायण कथामा राम र हनुमानको विषयलाई समेटिएको नाच हो, अहिले १३ जोडी हनुमानको भेषमा मंगलबारदेखि नाच्न शुरु गरिएको छ, आगमी दिनमा नाच्नका लागि कुनै तालिका हुँदैन, टोलवासीको मागका आधारमा उक्त टोलमा गएर नाचिन्छ, सबैटोलको माग पुरा भएपछि पुन हनुमानको मुर्ती सहित हनुमान नाचेर बागलुङ बजार परिकर्मा गरी हनुमान पौवामा गएर नाच विर्सजन गरिन्छ, भने हनुमानको मुर्तीलाई समेत लगेर झिकेकै ठाउमा राखिन्छ ।”
हुनमानको मुर्ति लिएर बजार परिक्रममा गरि नारायण चोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुन मुर्तीलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ ।
अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले पनि यसको संरक्षणमा नाच्ने गरेका छन् ।
हनुमान नाचको १० ताल
बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाई छ ।
कुनै पनि ताल बजाउँदा कलाकारहरुले बरिब २ इन्चको मोटाई भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भुईमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् ।
तीन वा पाँच वर्षमा निकालिँदै आएको आएको हनुमान नाच निकाल्न ढिलाई भएपछि नौ वर्षमा निकालिएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थ श्रेष्ठले बताउनुभयो ।
“शिरमा श्रीराम लेखिएको रातो पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्चर जोडेर हनुमान जस्तै देखिने एक हुल मानिसहरूको दुई दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रुपमा लिइन्छ” श्रेष्ठले भन्नुभयो “हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो, मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले नाच्ने गरेका छन्, खर्चिलो नाचका रुपमा रहेको यो नाच व्यवस्थापनमै १५ लाख सम्म खर्च हुने अनुमान छ ।”
पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन् । जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउनका लागि कठिन पर्दै गएको श्रेष्ठको भनाई छ ।
खर्चिलो हनुमान नाच
आर्थिक रुपमा र कलाकार जोहो गर्न पनि कठिन हुन थालेपछि जोगाउनै मुश्कल परेको मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । हुनमान नाचमा यस पटक १५ लाख सम्म खर्च हुने अनुमान गरिएको छ ।
हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचार संहिता पालना गर्न आवश्यक रहेको र हनुमान नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिएका कारण यो नाचलाई जिवनत राख्न कठिन भएकाले स्थानीय तहले समेत नाच संरक्षणमा जोड दिन आवश्यक रहेको छ ।
“झण्डै तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँ भक्तपुर, बनेपा, ठिमी लगायतका ठाउँबाट बागलुङ आएको नेवार समुदायले सँगै लिएर आएको परम्परागत संस्कृति हो हनुमान नाच” राजभण्डारीले भन्नुभयो “मानिस एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा सँगै जाने चिज हो, यो हनुमान नाच अहिले बागलुङमा जीवित रहँदा अन्यत्र लोप भैसकेको अवस्था छ ।” रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाच नचाउने उनको भनाई छ ।
कलाकारले बाजाको तालमा एक अर्काले लट्टी ठोक्नुपर्ने हुन्छ । विभिन्न प्रकारका १० ताल छोप्न आवश्यक छ । हनुमान नाचकमा देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायतका नाचले निकै रमाइलो बनाउने गरेको छ ।
हनुमान नाचमा संलग्न पूजारतले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनिहरुले ‘वीर चढेको भन्दै आएको छ’ ।
किन नाचिन्छ हनुमान नाच
रामायण कथामा रहेको राम वनवास भएको समयमा सितालाई हरण गरेपछि रावणले रामसंग गरेको टकरावलाई लियर नाचको उदय भएको मानिन्छ ।
रावणलाई जितेर आएको खुसीयालीमा हनुमान नाचिएको स्थानीय तीर्थ प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । वीर हनुमान जन्मदा विश्वप्रकाशका पुञ्ज सूर्यलाई ठूलो राम्रो रोटी ठानी निल्न खोजेका थिए ।
पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान् रामचन्द्रकी पत्नी जनकनन्दिनी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतादेवीलाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ ।
रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बूटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो ।
वीर हनुमानमा निहित यिनै पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्रार्थना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दु धर्मावलम्बीहरुको अगाध विश्वास हुँदा मल्लकालदेखि नै यो नाचको उद्गमस्थल भक्तपुरमा हनुमानको पूजाआजा र नांच नचाउने प्रचलन रहेको विश्वास गरिन्छ ।
आजभन्दा करिब ३०० वर्ष पहिले भक्तपुरबाट बाहिरिएका केही नेवारहरु धवलागिरी हिम–श्रृङखलाको काखमा अवस्थित पवित्र कालीगण्डकीको तटवर्ती उच्च समस्थली भूभाग बागलुङमा आई बस्न थालेपछि यो सम्प्रदायका –संस्कृतिप्रेमीहरुले आफ्ना पुर्खाले चलाई आएको कला, संस्कृति र संस्कारको संरक्षण, सम्बर्द्धन र विकास गर्दै यसैको माध्यमबाट नयाँ ठाउँमा आफ्नो पहिचान कायम गर्न विशेष प्रयास गरे ।
बागलुङमा देखाइने कतिपय प्राचीन लोकसंस्कृतिहरुमध्ये हनुमान नाँच प्रमुख लोकनृत्यका रुपमा स्थापित भई एक राष्ट्रिय सांस्कृतिक धरोहरका रुपमा आफ्नो विशिष्ट पहिचान कायम राख्न सफल छ ।
लोकनृत्य हनुमान नाचको प्रारम्भदेखि विसर्जन नहुँदासम्म सम्पूर्ण नृत्य कलाकार, व्यवस्थापकीय जिम्मेवारीका लागि कजीहरु (स्वयंसेवकहरु) र बाद्यवादकहरु समेतको संम्लग्नता निरन्तर भइरहनुपर्ने भएकाले यो नाँच सामान्यतः विजोड वर्ष अर्थात् ३÷५÷७÷९ वर्षको अन्तरालमा प्रदर्शन गर्ने गरिन्छ ।
लोक नृत्यको उद्गम स्थल मानिने ठाउँमा यो करिब–करिब लोप भइसकेको अवस्थामा बागलुङका नेवार मात्र होइन अन्य समुदायका युवावर्ग समेतको संलग्नतामा यसको संरक्षण, सम्बर्धन र विकासका लागि प्रयास भइरहेको छ ।
संरक्षणमा स्थानीय तहको चासो
बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई बागलुङ नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवर्द्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो । हनुमान नाच संरक्षणका लागि नगरपालिकाले हनुनमा नाचको विषयमा प्रचार प्रसार सामाग्री निर्माण गरेको छ ।
विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताउनुभयो ।