विद्युत अनियमितले मारमा उद्योगी


–खेमराज गौतम, बागलुङ

पछिल्लो दुई महिना यता बागलुङमा विद्युत अनियमित भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा यहाँका उद्योगी मारमा परेका छन् । पछिल्लो दुई महिना यता शनिबार बिद्युत कटौती भइरहेको छ भने अन्य समयमा पूर्व सूचना नगरी विद्युत कटौती हुँदा उपभोक्ता र उद्योगी मारमा परेका छन् ।

पर्वतको मोदीबाट सोझै बागलुङ नगरपालिका–१ रामरेखा स्थितको ३३–११ केभि क्षमताको सवस्टेशनमा ल्याइएको विद्युतमा पटक–पटक समस्या आउदा विद्युत कटौती भइरहेको छ ।
बिद्युत कटौतीले बागलुङ जिल्ला भित्र रहेका पोलिक्निक, ल्याब, फर्निचर, ग्रिल उद्योग, घरेलु उद्योग, वेकरी, होटल, रेष्टुरेन्ट, अपसेट प्रेस, सरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय सस्था लगायतलाई समस्या भएको हो ।

विद्युत सेवा अनियमित हुँदा रातको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या भएको छ । बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युतबाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको छ ।
रामरेखा सवस्टेशनबाट वितरण भइरहेको तित्याङ–सिगानामा क्षमता अनुसारको विद्युत नपुग्दा त्यहाँका फर्निचर लगायत अन्य घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

फर्निचरलाई आवश्यक विद्युतनै आफूर्ती नभएको र आपूर्ती भइरहेको विद्युत समेत पटक–पटक कटौती हुँदा दुई महिनादेखि फर्निचर व्यवसायनै धरासायी बन्न थालेको बागलुङ नगरपालिका–८ सिगानाका फर्निचर व्यवसायी राज जिसीले बताउनुभयो । “जिल्लाभरमै विद्युत अनियमित हुँदा म जस्ता साना उद्योगीलाई समस्या भएको छ, अहिले रायडाँडा तर्फको प्रशारणलाईनमा तित्याङ र सिगानाको लाईन जोड्न नसक्दा फर्निचरका उपकरणनै चल्न छोडेरको छ” जिसीले भन्नुभयो “विद्युत कार्यालयले उचित पहलकदमी नलिदा हामी जस्ता उद्योगी पयालय हुने अवस्था आएको छ, विद्युत उत्पादन बढेपनि प्रशारणलाईनको क्षमता नबढ्दा उद्योगी तथा उपभोक्ता मारमा परेका छन् ।”

पछिल्लो सयम बागलुङमा झ्याप–झ्याप बिद्युत आउने जाने गर्दा विद्युतीय उपकरणहरु समेत बिग्रने समस्या आएको हरी लम्सालले बताउनुभयो । विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । विद्युत् कटौतीले विरामीले अनलाइनबाट पाउने सेवा प्रभावित भएको छ । विरामीको सबै विवरण अनलाइनमा भएको र विद्युत् कटौतीले लामो समय कुर्नु पर्ने वाध्यता आइलागेको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनुभयो ।
बागलुङमा पर्वतको मोदीबाट विद्युत आपुर्ती हुने गरेको छ । लामो प्रशारणलाईन तथा वर्खामा पहिरो जाने, विद्युतीय पोलमा आउने समस्या जस्ता कारण बागलुङमा विद्युत अनियमितरुपमा जाने गरेको छ ।

दाना–खुर्कोट सवस्टेशनको विद्युत ल्याउन नसकिएको र बागलुङमा आएको मोदीको विद्युतमा दिन प्रतिदिन समस्या आउने गरेको छ । दाना–खुर्कोट सवस्टेशनको विद्युत बागलुङ ल्याउन ठेक्का भइसकेको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङले खुर्कोट सवस्टेशनबाट समेत विद्युत ल्याउने र वैकल्पिक रुपमा मात्रै मोदीको विद्युत प्रयोग गर्ने योजना बनाएपनि तत्कालै संभवन नभएको बागलुङ वितरण केन्द्रका इन्जिनियर रमेश पौडेलले जानकारी दिनुभयो । विद्युत कार्यालयले सामुदायिक वनका रुख काट्न नसक्दा समेत विद्युत आपूर्तीमा समस्या भइरहेको बताउनुभयो ।

बागलुङ र पर्वतको फलेवास क्षेत्रमा आउने लाईन एउटै भएको कारण पर्वतमा आउने समस्याले बागलुङ पनि प्रभावित हुने गरेको पौडेलको भनाई छ । “पुरानो प्रशारणलाईनमा समस्या देखिएको छ, पर्वतमा समस्या आउदा समेत बागलुङ पुरै अन्धकार हुन्छ, बागलुङको रयडाँडामा समस्या आउदा अहिले बागलुङ बजारमा विद्युत काट्नुपर्ने अवस्था छ” इन्जिनियर पौडेलले भन्नुभयो “रामरेखा सवस्टेशनको स्तरोन्नतीको काम भइरहेकाले समेत विद्युत अनियमित भएको हो, आगमी दिनमा विद्युत कटौती घट्छ, सवस्टेशन स्तरोन्नती संगै बागलुङ, गलकोट, कुश्मिसेरा लगायतका क्षेत्रको छुट्टा÷छुट्टै प्रशारणलाईन बनाएपछि समस्या घटेर जानेछ ।”

विद्युत आपूर्ती अनियमितले उद्योगी तथा व्यवसायीलाई लाखौंको क्षति भएपनि सम्बनधीत निकायले कुनै सुनुवाई नगरेकोे उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।
अहिले सामान्य झरी पर्दा र हावा चल्दा समेत दिनभर विद्युत नआउने समस्या व्याप्त रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *