आठ महिनादेखि कार्यालय प्रमुख बिहिन


खेमराज गौतम, बागलुङ
बागलुङको सामाजिक विकास कार्यालय आठ महिना देखि कार्यालय प्रमुख बिहिन भएको छ । यस कार्यालयमा कार्यालय प्रमुख सहित चार जनाको पद रिक्त रहेको छ । कार्यालय प्रमुख, चालुका कार्यक्रमलाई सहजीकरण गर्ने तथा योजना प्रमुखको पद खाली हुँदा कार्यालय सञ्चालनमै समस्या आएको छ ।

कार्यालय प्रमुख सहित ९ जनाको दरबन्दी रहेको कार्यालयमा अहिले चार जनाको पद खाली हुँदा कार्य सम्पादनमा समस्या भएको हो । ९ जनाको दरबन्दीमा दुईजना कार्यालय सहयोगी रहेकाले फाँट सञ्चालन गर्ने कर्मचारी जम्मा तीन जना मात्रै रहेको निमित्त कार्यालय प्रमुख कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार चार जनाको दरबन्दी खाली छ जसमध्ये एक कार्यालय प्रमुख र दुई फाँट चलाउने कर्मचारी छैन्, एक जना सवारी चालक त दरबन्दी भएपनि चारपाङ्ग्रे साधन नभएकाले आवश्यकता नपरेको हो । सामाजिक विकास कार्यालयले गत आर्थिक वर्ष ६१ योजना सम्पन्न गरेपनि अहिले १४२ योजना सम्पन्न गर्न तीन जना कर्मचारीले नसक्ने शर्माको भनाई छ ।

“नौं जना कर्मचारीमा पाँच जना छौं, दुई जना कार्यालय सहयोगी भएपछि बाँकी तीन जना भइयो, प्रशासन प्रमुख र लेखा प्रमुख र एक जना प्राविधिक मात्रै हुँदा योजना कार्यान्वयमा समस्या छ” निमित्त प्रमुख शर्माले भन्नुभयो “पाँच जनामध्ये बिदा बस्दा कार्यालय चलाउनै समस्या हुन्छ, एउटा प्राविधिकले १४२ योजनाको इस्टमेट, अनुगमन गर्नलाई कहिले भ्याइन्छ, कार्यालयमा चार पाङ्ग्रे साधन नहुँदा झनै समस्या छ ।”

भाडाको सवारीसाधन प्रयोग गर्दा कार्यालय सञ्चालन खर्च धेरै आउने शर्माको भनाई छ । अहिले कार्यरत प्राविधिक कर्मचारी समेत करारको भएको जानकारी दिदै शर्माले कार्यालयमा कर्मचारी संगै सवारीसाधनको समेत ठूलो समस्या रहेको बताउनुभयो ।

शिक्षा, तथा संस्कृति तर्फको कार्यक्षेत्र रहेको सामाजिक विकास कार्यालयमा ८ महिनादेखि कार्यालय प्रमुख सहित चार जनाको दरबन्दी रित्त हुँदा कार्यसम्पादनमा निकै समस्या भएको पाइएको छ ।
“बागलुङका १० वटै पालिकामा चालु आर्थिक वर्षका लागि १४२ योजना रहेकोमा एउटा योजनामा कम्तिमा तीन पटक कर्मचारी पुग्नुपर्ने हुन्छ” शर्माले भन्नुभयो “योजनाहरु दुर्गममा छन्, चारपाङ्ग्रे सवारी साधन नहुँदा मोटरसाईकलमा यात्रा गर्दा कठिन भएको छ, कार्यालय प्रमुखका लागि पटक–पटक गण्डकी प्रदेशमा माग गर्दै आएपनि हाल सम्म आउन सक्नुभएको छैन ।”

चालु तर्फका कार्यक्रम सञ्चालन गर्नका लागि फाट प्रमुखनै नुहँदा समेत समस्या रहेको छ । यस वर्ष रु. ८ करोड बजेटमा १४२ योजनाहरु सामाजिक विकास कार्यालयका रहेका छन् । उक्त योजनाहरु न्यूनतम पाँच लाख देखि अधिकतम १६ लाख सम्मका रहेका छन् । विद्यालय मर्मत, कक्षाकोठा निर्माण, तारबार, मर्मत संभार, मन्दिर जीर्णोद्वार, पुननिर्माण तथा संरक्षण, खेल मैदान व्यवस्थापन लगायतमा सामाजिक विकास कार्यालयको बजेट केन्द्रित भएको छ । बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले कर्मचारी पठाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासनले समन्वय मात्रै गर्न सक्ने भन्दै गण्डकी प्रदेशले कर्मचारी नपठाउदा सामाजिक विकास कार्यालयको काम ठप्प हुँने अवस्था आउने विषयमा सम्बन्धीत क्षेत्रमा ध्यानाकर्षण गराइएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *