सुस्ताएको ‘घरबास पर्यटन’ जगाइदै


खेमराज गौतम, बागलुङ
सात वर्ष अघि बागलुङ जिल्लामा घरबास सञ्चालनको लहडै आयो । २०७५ सालमा स्थापना भएको काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी सामुदायिक घरबास बिहुँ स्थापनापछि नियमित सञ्चालनमा भने आउन सकेको थिएन ।

कोरोना महामारी, पूर्वाधार अभाव, प्रचार प्रसार तथा तालिम प्राप्त जनशक्तिको अभावमा सुस्ताएका बागलुङको काठेखोलाका केही घरबास पुन जुरमुराउन थालेको छ । सात वर्ष अघि बागलुङमा शिवधुरी सामुदायिक घरबास जस्ता दर्जनौ घरबासहरु सञ्चालनमा आएका थिए ।

घरबासको उचित व्यवस्थापन गर्न नसक्दा बन्द हुँने अवस्थामा पुगेको शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेश स्थित बौर सामुदायिक घरबासलाई पुन सञ्चालनमा ल्याएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको सक्रियतामा घरबास सञ्चालकहरुलाई जागरुक बनाइएको छ ।

बागलुङको काठेखोला गाउँपालिका भित्र स्थापना भइसकेका तर नियमित नभएका दुई घरबासलाई नियमित गर्न र दुई नयाँ घरबास सञ्चालन गर्न थालिएको छ ।

काठेखोला गाउँपालिकामा चार स्थानमा स्तरीय घरबास सञ्चालन गर्ने हेतुले अहिले ८० जना घरबास सञ्चालकहरुलाई खानाका परिकार बनाउने, घरबास सञ्चालनको तरिका तथा पहुनाको स्वागत देखि बिदाई गर्ने तरिका समेत सिकाइएको छ । तालिमपछि उनिहरु पूर्वाधार निर्माणमा केन्द्रित हुन थालेका छन् ।

काठेखोला गाउँपालिका भित्रको शिवधूरी सामुदायिक घरबास र बौर सामुदायिक घरबासलाई पुन सञ्चालन र धम्जा देउराली सामुदायिक घरबास र खानीगाउँ सामुदायिक घरबास लेखानी सञ्चालनमा ल्याइउको छ । दुई घरवासमा पूर्वाधार मिर्नाणले गति लिएको छ ।

यूएनडीपीको आर्थिक सहयोग, काठेखोला गाउँपालिकाको साझेदारी र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा पर्यापर्यटन मार्फत सिमान्तकृत युवा र महिलालाई रोजगारी र आय आर्जन संग जोड्नका लागि घरबास सञ्चालनका लागि सहयोग पु¥याइएको हो ।

घरबासलाई आम्दानी र पर्यटन संग जोड्दै सुस्ताएका घरबासलाई समेत पुन जागरुक बनाउनका लागि चार वटा घरबासका ८० जना सञ्चालकलाई घरबास व्यवस्थापन तथा स्थानीय पथ पदर्शन कला सम्बन्धि तालिम समेत दिइएको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका सचिव उमेश गौतमले जानकारी दिनुभयो ।

“२०७५ साल वरपर बागलुङमा घरबास सञ्चालनको लहडै चल्यो, पछि धेरै घरबासहरु बन्द हुने अवस्थामा पुगे भने केही अनियमित बने, कतिपयले घरबास र होटलको फरक छुट्टाउन सकेनन्” सचिव गौतमले भन्नुभयो “अहिले बागलुङको काठेखोलामा स्तरीय घरबास सञ्चालनका लागि हामीले धेरै काम गर्न थालेका छौं, स्थानीय महिला तथा युवालाई आय आर्जनमा सघाउदै पर्यटनको गतिविधि बढाउन घरबासलाई दीगो बनाउने अभियानमा छौं, उनिहरुलाई पाक कला, पथ पदर्शन कला र स्वागत सत्कारको विषयमा जानकारी गराइएको छ, सञ्चालकहरु हाम्रो कार्यक्रमले उत्साहित हुनुभएको छ ।” काठेखोला गाउँपालिकाले समेत घरबास प्रर्बद्धनका लागि सहकार्य गरेको गौतमको भनाई छ ।

पहिलो चरणमा काठेखोला गाउँपालिका भित्रको दुई वटा पुरना घरबासलाई जगाउने र दुई स्थानमा नयाँ घरबास सञ्चालनमा ल्याइएको छ ।

नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनका अनुसार काठेखोलामा सात वर्ष अघि दर्ता भएर अनियमित बनेका शिवधुरी र बौर सामुदायिक घरबासलाइ पुन सक्रिय गराइएको छ भने लेखानीको खानी गाउँ र धम्जाको देउरालीमा नयाँ घरबास प्रस्ताव गरेर सञ्चालन गर्न थालिएको छ । धम्जामा यस अघि बेलढुङ्गा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ । अहिले पर्यटकीय क्षेत्र बेलढुङ्गा घरबासका कारण बाहिर आएपछि धम्जाकै अत्यन्तै संभावना बोकेको देउरालीमा सामुदायिक घरबास चलाउन थालिएको स्थानीय मेख बहादुर थापाले बताउनुभयो ।

उहाँले पहिलो चरणमा १० घरबाट घरबास सञ्चालनको काम थालिएको र तीन दिने घरबास व्यवस्थापन तालिम समेत लिइसकेको जानकारी दिनुभयो । उहाँले घरलाई घरबासमा परिणत गर्नका लागि सरसफाई, सुत्ने कोठा, भान्साकोठा तथा शौचालय र स्नान घर निर्माणमा यहाँका स्थानीय जुटेको बताउनुभयो ।

धम्जाको देउराली गाउँ ताराखोला, तंग्राम र धम्जाको केन्द्रमा पर्ने भएकाले पर्यटक भित्राउन समस्या नरहेको भन्दै यहाँका स्थानीयहरु घरबास चलाउन कस्सिएका हुन् । स्थानीय हिमाल सागर श्रेष्ठका अनुसार धेरै पहिलेदेखि देउराली व्यापारिक थलो भएको बताउदै पर्यटकलाई व्यवस्थित खाने बस्ने तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराउने हेतुले घरबास चलाउन थालिएको बताउनुभयो । उहाँले तालिम प्राप्त गरेपछि यहाँका स्थानीयहरु घरबास चलाउन कस्सिएर लागेको बताउनुभयो ।

यस्तै व्यवस्थित घरबासको अभाव खड्किएको काठेखोला गाउँपालिका–८ लेखानीमा खानीगाउँ सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनकै सहयोगमा लेखानीका २० घरबास सञ्चालकलाई सक्रिय बनाएर तालिम समेत दिइसकेको घरबास सञ्चालन तथा प्रर्बद्धनको साझेदार संस्था काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो । घरबास मार्फत बसाईसराईले सुनसान बन्न थालेका गाउँहरु जागरुक बनाउन स्थानीय तहले समेत महिलाहरुलाई पाक कला, तथा सिप विकास तालिम दिइहेको जानकारी दिनुभयो ।

न्यून आयस्रोत भएका महिला र युवाहरुकोलागि लक्षित गरी घरबास सञ्चालनका लागि सञ्चालकलाई सक्रिय बनाइएको हो । पर्यटकीय क्षेत्रको प्रचार प्रसारका कारण आन्तरिक पर्यटन भित्राउने, स्थानीय उत्पादनसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र स्थानीय पथ पर्दशकको बारेमा सीप सिकाउनाले घरबास दीगो रुपमा सञ्चालनमा आउने काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

उहाले आफ्नो वडामा चार स्थानमा सामुदायिक घरबास सञ्चालनमा आएको बताउदै बौर सामुदायिक घरबास अत्यन्तै संभावना युक्त भएको बताउनुभयो । पर्यटकलाई चिया बगानदेखि हिम ऋङ्खाला देखाउन सकिने भएकाले सात वर्ष अघि स्थापना गरिएको बौर सामुदायिक घरबासलाई पुन सक्रिय बनाइएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *