२३ वर्षपछि सञ्चालनमा आउदै बागलुङ बसपार्क

आदर्श अनलाइन, बागलुङ
पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन गर्ने २३ वर्ष अघिदेखिको सपना पुरा भएको छ । २३ वर्षपछि बागलुङको उपल्लाचौर स्थित दाबगरा बसपार्कले पूर्णता पाएको छ । जग्गा फिर्तामा ढिलाई तथा पहुँचमार्ग बिस्तार गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन सकेको थिएन । चार वर्षअघिनै चिटिक्क परेको बसपार्क पुहँचमार्गको अभावमा सञ्चालनमा आउन सकेको थिएन । नगरपालिकाले बसपार्कको परिक्षण समेत गरिसकेको छ । ढिलैभएपनि सञ्चालन आउनथालेपछि जग्गादाता खुसी भएका छन् ।

नगरपालिकाको नाममा २३ वर्ष अघि प्राप्त जग्गामा चार वर्षअिघनै बसपार्क निर्माण सम्पन्न भएपनि बस चलाउन सकिएको थिएन । नगरपालिकाले केही महिना अघि बसको सफल परिक्षण गरेपछि पहुँचमार्ग बिस्तार गरेको थियो । पहुँचमार्ग साँघुरो हुदा बस आउ–जाउमा समस्या भएपछि पहुँचमार्ग बिस्तारसंगै बसपार्क चलाउन थालिएको बागलुङ नगरपाकिलाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु. ९ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण गरेको बसपार्क चलाउन नसक्दा ऋण तिर्न समस्या समेत भएको थियो । बसपार्क सञ्चालन संगै नगरपालिकाको नाममा रहेको बाँकी जग्गा फिर्तागर्ने प्रकृया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

निर्माण सम्पन्न भएर बसपार्क सञ्चालनमा आउन नसक्दा चर्को आलोचना खेपेको नगरपालिकाले बसपार्क चलाउन थालेको हो । बसपार्कको औपचारिक उद्घाटन भदौं १८ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नु हुने कार्यक्रम तय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । २०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ भने अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्तागर्नुपर्ने छ ।

“नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि जग्गा फिर्ता गर्ने योजनामा छ, पहुँचमार्गको समस्याले बसपार्क सञ्चालनमा ढिलाई भएको थियो, चार बर्षदेखि नगरपालिकाले नगरविकास कोषलाई ऋणको सावा र ब्याज भुक्तानी गरिरहेको छ, बसपार्क सञ्चालनमा ल्याएपछि नगरपालिकालाई आर्थिक भार घट्नेछ भने जग्गाधनीले आफ्नो जग्गा २३ वर्षपछि घडेरीका रुपमा फिर्ता पाउनेछन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “यातयात व्यवसायीसंग समन्वय भइरहेको छ, बसपार्क उपल्लाचौरमा सञ्चालनमा आउदासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि नगरपालिकाले प्रयोग गर्नेछ ।”

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा बनाइएको नयाँ बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भएपनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । बसपार्क छिर्ने सडक साँघुरो हुँदा बस लैजान नसक्दा ढिलाईपएपछि नगरपालिकाले पहुँचमार्ग बिस्तार गरेर बसपार्कको उद्घाटन गर्न थालेको छ । पछिल्लो समय बसपार्क जाने दुई वटा सडक स्तरीय बनाइएको छ ।

नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्नका लागि घडेरीको नक्सा समेत निर्माण गरिसकेको छ । नगरपालिकाले बसपार्कमा व्यवसायिक सटर समेत बनाएकाले बसपार्कबाट नगरपालिकाले समेत लाभ लिन सक्नेछ ।

अहिले नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको सावा तथा व्याज नगर विकास कोषलाई तिरिरहेको छ । बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कको विकल्पमा दावगरामा आधुनिक भवन सहित बसपार्क बनाइएको छ ।

बसपार्क सञ्चालनमा आउन थालेपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउनेमा आशा बढेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । राजभण्डारीले ५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ताका लागि नक्सा समेत तयार भइसकेको बताउनुभयो ।

दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा १ सय २७ घडेरी बनाउनुपर्ने नगरपालिकाको दायित्व छ । यहाँ एकै पटकमा ७० बस राख्ने व्यवस्था र भूमिगत ट्याक्सी पार्कीको सुविधा रहेको छ । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्ने र मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरमा चल्ने लामा दुरीका बस यही बसपार्कमा रोकिने भएकाले पर्यटन क्षेत्रमा समेत बागलुङले फड्को मार्ने बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *