कोरियाको आम्दानी ड्रागन फ्रुटमा लगानी

आदर्श अनलाइन, बागलुङ

कोरियाबाट फर्केका बागलुङको काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा अहिले ड्रागन फ्रुटको व्यावसायिक उत्पादनमा हुनुहुन्छ । २०७७ सालमा ड्रागन फ्रुटका एक हजार ५०० बिरुवा लगाउनुभएका थापाले पन्ध्र महिनामै उत्पादन दिन थालिएको बताउनुभयो ।

कोरोना कहरमा कोरियाबाट गाउँ फर्केको सयमा युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि थापा दंग पर्नुभएको छ । गाउँकै १५ रोपनी जग्गामा ७ रोपनी बाँझो र अन्य ८ रोपनी खेतियोग्य पाखोबारीमा लगाउनुभएको ड्रागन फ्रुट हाल सम्म एक हजार २०० केजी उत्पादन भइसकेको थापाको भनाई छ ।

थापाले वैदेशिक रोजगार पछि गाउँको जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको थियो । कोरियामा छ वर्ष बिताइसक्नुभएको थापाले ड्रागन फ्रुटको व्यवसायिक खेती फलफुल मध्येकै सबैभन्दा सजिलोखेती रहेको अनुभव सुनाउनुभयो ।

छोटो समयमै चार लाख भन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ । “कोरोनाले लकडाउन थियो, फुर्सदको समय थियो कोरियाबाट फर्केको थिए, ड्रागन फ्रुटको खेती राम्रो हुनेदेखिपछि जग्गा व्यवस्थापन र विरुवा खरिद गरी २०७७ सालमै रु. २० लाख लगानी गरेको थिए, एक पटक लगानी गरेपछि निरन्तर आम्दानी दिने रहेछ” थापाले भन्नुभयो “बिरुवा रोपेको पन्ध्र महिनामै उत्पादन थालेपनि बिक्रिका लागि भने गत वर्षदेखि उत्पादन भइरहेको छ, यो मंसिंर सम्म दुई हजार ५०० केजी ड्रागन फ्रुट उत्पादन भइसक्ने अपेक्षा छ ।”

ड्रागन फ्रुटको शुरुमा लगानी र स्याहार बढी चाहिने भएपनि पछिल्ला वर्षमा मलजल मात्रै गरे ड्रागन फ्रुट फल्ने भएकाले आफू जहाँ गएपनि समस्या नुहँने बताउनुभयो । उहाँले आफू नहुँदा श्रीमती गोरी थापाले सहयोग गरिराख्नुभएको जानकारी दिनुभयो । केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गालाई सम्माएर ड्रागन फ्रुटको खेती थालेको उहाँको भनाई छ ।

“विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने देखिन्छ, कोरियामा गएर दुःख गर्न सिकियो” उहाँले भन्नुभयो “चितवनबाट एक हजार ५०० बिरुवा ल्याएर खेती शुरु गरेको थिए, अहिले ड्रागन फ्रुटलाई प्रति केजी ४०० मा बजार पठाइरहेको छु, बेनी, पोखरा र बागलुङ बजारमा ड्रागन फ्रुट खपत भइरहेको हुन्छ ।”

ड्रागन फ्रुट यस्तै उत्पादन भइराखे अबको दुई वर्षमा लगानी उठाइसक्ने र त्यसपछिको आम्दानी नाफामा जाने थापाको भनाई छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र शुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापाको भनाई छ ।

“एक पटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादनमात्रै हुने र फाइदाका हिसाबले समेत ड्रागन फ्रुट बुहुगुण्ी भएकाले बजार संभावना समेत अत्याधिक छ” थापाले भन्नुभयो “जेठबाट उत्पादन शुरु भएको फल १५ दिन बिराएर मंसिर सम्म टिप्न पाइन्छ, मैले लगाएको रातो जातको ड्रागन फल उत्पादन भइरहेको छ ।”

तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिब तीन हजार मिटरसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *