अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह भन्नुहुन्छ : ‘पर्यावरण संरक्षण अभियान चलाउछु’


खेमराज गौतम, बागलुङ

उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन ।

२०४३ सालमा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुग्नुभएका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुग्नुभयो भन्ने धेरैको जिज्ञासा छ ।

२००९ सालमा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएको विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हुदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकको रुपमा त्यहाँ पुग्नुभएको थियो । उहाँले पर्यावरण संरक्षण, फोहोर व्यवस्थापनमा प्रविधिक समूहमा रहेर अन्टार्कटिका पुग्नुभएका विश्वकर्मा गृह गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा हुनुहुन्छ ।

“अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पुरा ग¥यो, भारतीय सेनामा कार्यरत रहदा भारतले बैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँका बसाई व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्दथ्यो” विश्वकर्माले ३८ वर्ष अघिको कुरा सम्झदै भन्नुभयो “मेरो शारिरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो मलाई आर्थिक उपार्जन भन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलोपटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पु¥याए ।”

भारतीय सेना हुँदै अन्टार्कटिकाको यात्रा
बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँको नाममा वुटवल उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको समेत नामाकरण समेत गरिसकेको छ ।

प्रसिद्ध प्रर्बल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल बिश्वकर्माले बागलुङ मात्रै नभई सिंगो नेपालको नाम चिनाउन सफल हुनुभएको छ । हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउदै सम्मान थाप्न व्यस्त हुनुहुन्छ । उहाँले हिउमा फोहोर व्यवस्थापनको काममा आफू दख्खल रहेको बताउदै अन्टार्कटिकामा कुनै फोहोर गर्न नपाइने भन्दै मानव दिसालाई समेत खरानी बनाएर फर्काउनुपर्ने बताउनुभयो ।

“अन्टार्कटिकामा कुनै फोहोर गर्न पाइदैन, मानव दिसा त्यहा चिसोका कारण जस्ताको तस्तै हुन्छ, खान तथा भान्साबाट निस्कने फोहोरलाई प्रशोधन गर्ने र जलायर खरानी बनाएर भारतनै फर्काउने गरिन्थ्यो” उहाँले भन्नुभयो “नेपालको सगरमाथा बेसक्याम देखि चुचुरो सम्म फोहोरै फोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहोर मुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरिरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको तस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैसंग राखेर ल्याउन सकिन्छ ।”

भारतको गोवाबाट २२ दिनको लामो समुन्द्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उहाँको भनाई छ । अन्टार्कटिका छ महिना उज्यालो र छ महिना अध्यारो हुने गर्दछ । नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुली देखि कैलाली र झापा सम्म सम्मान पाएको विश्वकर्माको भनाई छ । बागलुङ नगरपालिकाले समेत भदौं १८ गते नगद २५ हजार सहित सम्मान गरेको बताउनुभयो । गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रर्बल गोर्खा दक्षिण बाहु दोस्रो भन्दा ठूलो सम्मान मिलेको बताउनुभयो ।

अहिले विद्यालयमा प्रर्यावरणसम्बन्धी सचेतना पु¥याउने कार्यमा उहाँ लाग्नुभएको छ । “हाम्रो सगरमाथाको बेसक्याम्पदेखि चुचुरो सम्म थुप्रै फोहोरहरु छ, सगरमाथा यात्रीको दिसा जस्ताको तस्तै छ, त्यसलाई जलाएर आफैले फर्काउने व्यवस्थापन मिलाउन आवश्यक छ” विश्वकर्माले भन्नुभयो ।

अहिले उहाकै नाममा वुटवल र हेटौडामा भुवनसिंह मार्गका नाममा सडकको नामाकरण गरिएको छ । उहाँले आफू जन्मेको गाउँ शिक्षामा पछि रहेको भन्दै आफ्नो छोरा बुहारीहरुको सहयोगमा एउटा शैक्षिक कोष स्थापान गरेर शिक्षामा सघाउने उदेश्य रहेको बताउनुभयो ।

अन्टार्कटिकामा जाडो याममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने भएकाले त्यहाँको बसाई अत्यन्त्रै चुनौतीपूर्ण रहेको उहाँको भनाई छ । प्रतिघण्टा २ सय किलो मिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न नसकिने उहाँकोभनाई छ ।

विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ । त्यहाँ पुग्नु आफैमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ ।

भारतीय बङ्गाल इन्जियनिरिङ ग्रुप रुड्कीबाट छनौट भई अन्ट्रार्कटिका गएको उहाँको भनाई थियो । “अन्टार्कटिकाका लागि शरीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्न सक्ने योग्य व्यक्तिलाई मात्र छनौट गरिन्थ्यो” विश्वकर्माले भन्नुभयो “सबै मापदण्ड र विशेषताले निपुण भएपछि मात्रै त्यहाँ जानका लागि छनौटमा परिन्छ, मलाई त्यहाँ नपुग्दा सम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीहरु समेत पुगिसक्नुभएको छ ।” कठिन यात्राको सरल अनुभूति सुनाउँदै भुवनसिंह विश्वकर्मा भन्नुहुन्छ “दुःख र जोखिम नमोले सम्म सफलता हात लाग्दैन, मैले ३८ वर्ष अघि उठाएको जोखिमले नेपालभर चिनाउन सफल भइयो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *