आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि


खेमराज गौतम, बागलुङ

बागलुङमा प्रधानमन्त्री कृषि परियोजना मार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गराएको छ । बागलुङमा आर्थिक वर्ष २०७५÷०७६ देखि आलु र आर्थिक वर्ष २०७८÷७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ ।

बागलुङको उच्च पहाडी क्षेत्रमा आलु र बाख्राको संभावना र प्रसस्त चरण क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ । प्रधानमन्त्री कृषि परियोजना मार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छ भने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण प्ररियोजना बागलुङका निमित्त बरिष्ठ कृषि अधिकृत नाराण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताउनुभयो ।

आलु र बाख्रा जोन कार्यक्रमले आलु र मासुको उत्पादनमा समेत वृद्धि गराउन सफल भएको छ । बागलुङको उच्च पहाडी क्षेमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो ।

बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकाको केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले उत्पादन बढाएको तथ्याङ्क रहेको छ ।

“बागलुङमा आलु र बाख्राको निकै संभावना छ, चालु आर्थिक वर्षदेखि अलैचीको जोन समेत निर्माण गर्न थालिएको छ, आलु र बाख्रा जोन कार्यक्रमबाट किसानले आलु र मासुको उत्पादनमा वृद्धि गरेको पाइएको छ, हामीले परियोजना मार्फत प्राविधिक सहयोग, सिंचाई, बिउ, खोर सुधार लगायतका कार्यक्रममा सहयोग गरेका छौं” पौडेलले भन्नुभयो “बागलुङमा क्रमश अलैची जोन, गाइ तथा भैसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आर्थिक वर्षमा अलैची जोन बनाउन बजेट समेत बिनियोजन गरेका छौं, बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट सहित ८ स्थानीय तहलाई समेटेर अलैंची जोन बनाउने तयारी छ ।”

यस्तै बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको केही वडालाई समेटिएर आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिनुभयो । बाख्रा जोन शुरु हुँदा २६ हजार ६७५ बाख्रा रहेकोमा हाल बाख्राको संख्या बढेर ४१ हजार ५१३ पुगेको छ ।
आलु जोन बागलुङका पाँच पालिकाको ६१० हेक्टर क्षेत्रफलमा फैलएको छ । आलु जोन कार्यक्रम बागलुङ संगै छिमेकी जिल्लाको मालिका र मदाने गाउँपालिकाको केही वडा समेत समेटिएको छ ।
यस्तै बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ वटा बाख्रा फर्मलाई समेटिएको छ । जोन अन्र्तगत बिउँपूजी, यन्त्रिकरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउदै आएको पौडेलको भनाई छ ।

आलु जोन कार्यक्रम बागलुङमा तीन समूह मार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, २ सहकारी र १ समूहले सञ्चालन गर्दै आएको छ । आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैची जोन बनाउन थालिएको छ ।

अलैची जोन बनाउनका लागि चालु आर्थिक वर्षमा रु. एक करोड २ लाख बजेट विनियोजन भएको छ । अलैची जोनका लागि घुम्ती तालिम, अलैचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिचाई पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यसबर्षदेखि थालिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *