करोड खर्च गरेको खेलमैदान अलपत्र

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अगाडि सुरु भएको बहुउद्देश्यी खेलमैदान अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिए पनि हालसम्म ७५ प्रतिशत मात्रै काम सकिएको छ । लामो समयदेखि काम रोकिएपछि खेलमैदानमा बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेल मैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ रुपैयाँ लगानी गरेका छन् ।

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट हुँदा समस्या आएको पाइन्छन् । ठोडो खोलामा बर्खाको समय भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउ गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट भएको पाइन्छ । सरकार र स्थानीयको लाखौँ रकम परेको खेलमैदान महिल सडक निर्माण गर्दा करिब आधा भागसमेत पुरिएको छ । सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्वनै मेटाई दिएको छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलामम्मे हुँदा खेल खेल्नै नमिल्ने बनेको छ ।

ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयवासीले उठाएको ३० लाख, प्रदेश र स्थानीय सरकारबाट करिब ३० लाख र जनश्रमदानदान गरि करिब एक करोड लगानी भएको छ । करोड लगानी भएको खेलमैदानमा अहिले खेल खेल्न सक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको भन्दै अझै २५ प्रतिशत पूरा गर्न बाँकी रहेको अध्यक्ष आचार्यले बताउनुभयो । खेलमैदानलाई पूर्णता दिनका लागि अझै ८० लाख रुपैयाँ आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । बागलुङ बजार रहेको खेलमैदानमा विभिन्न किसिमका कार्यक्रम गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ ।

“यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो खेलमैदान बनाउन थालेको तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन, बागलुङ बजार छेउमै रहेको यो ठाउँमा सभा समारोह गर्न पनि उचित छ, तर बजेट अभावले काम सकिएको छैन” अध्यक्ष आचार्यले भन्नुभयो – “यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले निकै ठूलो लगानी गर्नु भएको छ, यहाँबाट विदेश गएकाहरुले पनि धेरै रकम पठाएर सहयोग गर्नु भएको छ, धेरै पटक सम्बन्धित निकायमा माग ग¥यौँ, तर आवश्यक बजेट नहुँदा अव्यवस्थित बन्यो ।”

बागलुङ नगरपालिका–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राबिधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो । पहिले धेरै युवा गाउँमा रहेको भन्दै अहिले धेरै विदेश पलायन भएको र चासो दिन कम हुँदा समयमै काम हुन नसकेको उहाँको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको सुनाउँदै बर्खा लाग्यो भने खेलमैदान डुवानमा पर्ने अध्यक्ष क्षेत्री बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यहाँ केही प्राबिधिक कमीका कारण खेलमैदान संचालन गर्न सकिएको छैन, यो खेलमैदान निर्माण गर्ने बेला गाउँमा युवाहरुको ठूलो जमात थियो, तर अहिले अहिले युवा पनि छैनन्, पहिला युवाहरुको लहर चल्यो, कार्यक्रम गर्ने गरे, अहिले खेलमैदानको अवस्था खराम छ, म वडा अध्यक्ष भएर आउनु पूर्वनै बन्न थालेको हो खेलमैदान अहिले पनि सम्पन्न भएको छैन, यसलाई पूर्णता दिन नगरपालिका र प्रदेश सरकारमा पहल गर्छु ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *