काठेखोलामा पाँच शैयाको प्राथमिक अस्पताल भवन निर्माण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँकोटमा पाँच शैयाको प्राथमिक अस्पताल निर्माण भएको छ । वि.सं. २०५९ साल जेठ ३ गतेदेखि स्वास्थ्य चौकी सुरु भएको बिहुँकोटमा अस्पताल संचालन गर्नका लागि भवन निर्माण गरिएको हो । संघीय सरकारको लागत ६ करोड १२ लाख लाखमा निर्माण भएको भवन यही असोज पहिला साता सम्पन्न भएको हो । भवन निर्माण सकिएसँगै अब स्वास्थ्य चौकीको स्तरोन्नती गरि पाँच शैयाको प्राथमिक अस्पताल संचालन गरिने भएको छ ।

अस्पताल भवन वि.सं. २०७७ बैशाख २० गते पुनर्निमाण प्राधिकरण कार्यालयमार्फत सम्झौता गरेर सुरु भए पनि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय अन्तरगत रहेर अहिले निर्माण भएको हो । भवन निर्माणको जिम्मा पाएको बन्दन भगवती/ देव एण्ड सायर÷तिकल निर्माण जेभीले दुई पटक म्याद थप गरेर काम सम्पन्न गरेको सहन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर सुशिल आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “भवन अल्ली अगाडिनै सकिनु पर्ने हो, कोभिड महामारी लगायत अन्य विभिन्न समस्याले गर्दा यसै साता मात्र काम सकिएको छ, पहिला पुनर्निर्माण प्राधिकरणमार्फत काम सुरु भएको थियो, त्यो कार्यालय हटेपछि हाम्रो कार्यालयमा यसको काम गर्ने जिम्मा आएको थियो, सोही अनुसार काम गरियो, अहिले सम्पन्न भयो ।”

बिहुँकोटमा अहिले पनि स्वास्थ्य चौकी संचालनमा छ । उक्त स्वास्थ्य चौकी स्थापनाकालदेखि वर्षौँ पुरानो कच्ची घरबाट संचालनमा रहेको छ । अब केही समयमै स्वास्थ्य चौकीको स्तरोन्नती गरि ‘बिहुँकोट प्राथमिक अस्पताल’का रुपमा विकास गरिने काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पती कँडेलले जानकारी दिनुभयो । बिहुँका नागरिक अलि ठूलो रोग लाग्दा बागलुङ, पोखरा, काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको भन्दै अब यहाँबाट पाँच शैयाको अस्पताल सुरु गरेपछि ठूलो राहत मिल्ने उहाँको भनाइ छ ।

अस्पताल संचालनका लागि संघीय सरकारले अनुमति दिएको भन्दै अब दरबन्दी माग गरेर यसै वर्षदेखि पाँच शैयाको अस्पताल सुरु गर्ने अध्यक्ष कँडेल बताउनुहुन्छ । अस्पताल सुविधा सम्पन्न रहेको भन्दै १५ शैयाको संचालनका लागि पर्याप्त भए पनि सुरुमा पाँच शैयाबाट सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ । पूर्वधार निर्माणपछि अब जनशक्ति व्यवस्थापमा लाग्ने कँडेलले बताउनुभयो ।

“बिुहँमा ठूलो जनसंख्या भएको बस्ती छ, यो अस्पताल संचालनमा आएपछि एउटा वडाका नागरिकले मात्रै सेवा लिने होइन, काठेखोला गाउँपालिकाका हजारौँ नागरिकले उपचार पाउने छन्, अहिले स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीसहित नयाँ कर्मचारी र डाक्टर थप गर्नु पर्ने छ,” अध्यक्ष कँडेलले भन्नुभयो – “यहाँ अस्पताल संचालनमा आएपछि नागरिकलाई हजारौँ रुपैयाँ खर्च गरेर टाढा जानु पर्ने छैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *