खेमराज गौतम, बागलुङ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय सर्मिला पुर्जाले दोवाको निउरो संकलनगरी सिधै बागलुङ बजार पठाउने काम गर्नुहुन्छ । साउन देखि असोज सम्म पुर्जा सहितका महिलाको दैनिकी जंगलमा निउरो संकलन र बजारीकरणमा वित्ने गरेको छ ।
स्वादिष्ट तरकारीको रुपमा परिचित लेकको जंगलमा उत्पादन भएको निउरो बागलुङ बजारमा उच्च माग हुने गर्दछ । उहाँले अन्य महिलाहरुसंग निउरो संकलन गरेर बजारसम्म पठाउने काम समेत गर्दै आउनुभएको छ । जंगलमा उत्पादन भएको अर्गानिक निउरो उपभोक्ताको रोजाईमा परेपछि यहाँका शर्मिला पुर्जा सहितका महिलाहरुलाई आय आर्जनमा सघाएको छ ।
दोवाको निउरोलाई संकलन गरी बागलुङ बजार सम्म पु¥याउने काम पुर्जाको हो । पूर्जाको परिवार र अन्य स्थानीय महिलाहरुले निउरो विक्रि गरेर लाख भन्दा बढी रकम भित्राउने गरेका छन् । यो वर्ष मात्रै दोवाका सर्मिला पूर्जा र माया कुमारी पुन मार्फत रु. १० लाख ५० हजार गाउँ भित्रिएको छ ।
“म्याग्दीको दोवामा उत्पादन भएको निउरो अहिले सोझै बागलुङ बजार पुग्छ, म्याग्दीमा निउरोको बजार छैन” निउरो संकलन कर्ता पूर्जाले भन्नुभयो “वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रहेको रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च गर्न पुग्छ, कम्तिमा एक जनाले एक सिजनमा लाख भन्दा माथी निउरो विक्रि गरेरै कमाउने गरेका छन् ।”
यस वर्ष बागलुङमा निउरो पठाए बापत सर्मिला पुर्जाले रु. ८ लाख ५० हजार र माया पुनले रु. दूई लाख ५० हजार भुक्तानी लगेको बागलुङ बजारको रेग्मी सप्लायर्सका शंकर रेग्मीले बताउनुभयो ।
रेग्मीले विगत चार वर्षदेखि निउरोको कारोबार गर्दै आउनुभएको छ । जंगली निउरोको माग बागलुङमा उच्च रहेकाले निउरोको व्यापार गर्दै आएको रेग्मीको भनाई छ ।
उहाँले चितवनबाट आएको निउरो भन्दा म्याग्दी दोवाबाट आएको निउरोको उच्च माग रहेको बताउनुभयो । रेग्मीले बागलुङ बजारवासीको माग अनुसार निउरो पु¥याउनै मुश्किल भएको बताउनुभयो । निउरो संकलनकर्ताले म्याग्दीमा भन्दा बागलुङमा बढी मुल्य पर्ने भएपछि निउरो संकलनकर्ताले बागलुङमा सोझै निउरो पठाउने गरेका छन् ।
रेग्मीले अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँका स्थानीय माया कुमारी पुन र सर्मिला पूर्जा सहित स्थानीय महिलाहरुद्वारा संकलित निउरोहरुको बागलुङ बजारमा बजारकिरण गर्दै आउनुभएको छ ।
अहिलेको सिजनमा बागलुङेको भान्सामा म्याग्दीको निउरो पाक्ने गरेको पाइन्छ । लेकाली निउरो स्वादिष्ट हुनेभएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च रहेको छ । बागलुङको जंगलमा निउरोको उत्पादन कम हुने भएकाले म्याग्दीको निउरो खपत हुने गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निउरो उहाँले म्याग्दी सदरमुकाम बेनी बजारबाट बागलुङ बजार आउने गरेको छ ।
रेग्मीले होलसेल मुल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्रि गर्दे आउनुभएको छ । अहिले बागलुङमा दोवाको निउरो होलसेल प्रतिमुठा रु.८० र खुद्रा प्रतिमुठा रु. १०० मा विक्रि हुँदै आएको छ ।
दोवाको जंगलमा पाइने निउरो संकलन गरेर यहाँका महिलाहरुले समेत जीविको पार्जन गर्दै आएको अन्नपूर्ण गाउँपालिका–१ दोवाका निउरो संकलनकर्ता माया कुमारी पुनले जानकारी दिनुभयो । दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएकाले हामीले म्याग्दीमा बिक्रि नगरी सोझै बागलुङ पठाउने गरेको उहाँको भनाई छ ।
निउरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । दोवाको वन उपभोक्ता समितिलाई राजश्व बुझाएर यहाँका महिलाहरुले निउरो संकलन गर्ने गरेका छन् ।