आदर्श अनलाइन, बागलुङ
धौलागिरीको जेठो विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय स्थापना गर्न थालेको छ । बालबालिकालाई पठन संस्कृतिको विकास गर्नका लागि बाल पुस्तकालय निर्माण अभियान थालिएको छ ।
२००३ सालमा स्थापना पुस्तकालयमा यस वर्ष बाल पुस्तकालय सञ्चालनको तयारी थालिएको हो । बाल पुस्तकालय सञ्चालनार्थ चार वटा अक्षयकोष स्थापना गरिएको छ भने सहयोग जुट्ने क्रम समेत जारी रहेको छ ।
बाल पुस्तकालय सञ्चालनका लागि चार अक्षयकोषसहित झण्डै पाँच लाख सहयोग जुटेको विद्यामिन्दर पुस्तकालय बागलुङका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार अनुसार पुस्तकालयका सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु. ५५ हजार ५५५ को अक्षयकोषको स्थापना गर्नुभएको छ ।
यस्तै गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका लक्ष्मी थापा, अष्ट्रेलियमा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहनुभएका कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु. ५१ हजार ८१७ को ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु. ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको छ ।
यस्तै बागलुङ नगरपालिका–२ निवासी सुन्दरी श्रेष्ठले आफ्नी आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा रु. २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले बाल पुस्तकालयका लागि रु. २५ हजार प्रदान गर्नुभएको छ ।
यस्तै बाल पुस्तकालय सन्चालनार्थ सहयोग गर्ने क्रम समेत जारी रहेको अध्यक्ष थापाले बताउनुभयो । थापाले पुस्तकालय स्थापनाका लागि चार लाख कोष तथा एक लाख सहयोग रकम संकलन भइसकेको छ ।
होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले रु. पाँच हजार, शिवशक्ति अटोमोबाइल्सका तर्फबाट सञ्चालक शिवशङ्कर शाहले रु. २५ हजार, एनप्याब्सन बागलुङ नगर समितिका तर्फबाट रु. १५ हजार,सज्जनकुमार सिँहबाट रु. पाँच हजार ५५५, काठखोला गाउँपापलिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेबाट रु. तीन हजार सहयोग संकलन भएको छ ।
यस्तै पुस्तकालयका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षसहित पूर्वअध्यक्ष गोविन्दप्रसाद वंझा, उत्तम श्रेष्ठ, रामप्रसाद शर्मा, विकास शाक्य र निरज शाक्यले रु. पाँच हजारका दरले बाल पुस्तकालयका लागि सहयोग गर्नुभएको छ । “चार वटा अक्षयकोष स्थापना र एक लाख सहयोग रकम गरी रु. पाँच लाख संकलन भइसकेको छ” थापाले भन्नुभयो “बाल पुस्तकालयले बालबालिकालाई पुस्तकालयप्रति आकषएण बढाउनेछ, बालबालिकाको पठनीय सामाग्री र साज सज्जाले पुस्तकालयप्रतिको मोह जगाउने हाम्रो अपेक्षा हो ।”
पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले रु. एक लाख, गलकोट नगरपालिका–७ मल्म घर घई हाल जापानमा रहनुभएका तलवीर थापाले रु. २० हजार, कुलवीर थापाले रु. १० हजार, बागलुङ बजार निवासी मछिन्द्र शाक्यले रु. पाँच हजार, सिगाना निवासी बुद्धिविनायक कार्कीले रु. पाँच हजार सहयोग प्रदान यस अघिनै गरिसक्नुभएको छ ।
राजु थापाले रु. पाँच हजार, अशोककुमार श्रेष्ठले रु. पाँच हजार, पुस्तकालयका पूर्वअध्यक्ष पद्यमचन्द्र राजभण्डारीले रु. पाँच हजार र गुठी निवासी गगन पुनले रु. तीन हजार प्रदान गर्नुभएको छ । हालसम्म अक्षयकोषसहित गरेर रु. चार लाख ८० हजारभन्दा बढी सहयोग संकलन भएको पुस्तकालयका सचिव राजन शर्माले जानकारी दिनुभयो । बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङ्गरोगन र साजसज्जाका सामग्री आदि सहयोगदाताहरुले उपलब्ध गराउन सक्नेछन् । बाल पुस्तकालयलाई लागि रु. १२ लाख लागत लाग्ने अनुमान गरिएको छ । पुस्तकालयक भवनको छुट्टै कक्षमा बाल पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको हो ।
पुस्तकालयले पठन संस्कृतिको प्रवद्र्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ ।