खेमराज गौतम, बागलुङ
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडा दशैंमा चार लाख दर्शनार्थी भित्रिएका छन् । वडा दशैंको अवसर घटस्थापनादेखि नवरात्र सम्म चारलाख भन्दा बढीले कालिका मन्दिर दर्शन तथा पुजा अर्चनामा सहभागी भएका हुन् ।
पछिल्लो समय कालिका मन्दिरको महिमाको प्रचार प्रसार र दशैंमा घुम्न निस्कने धार्मिक पर्यटकहरु कालिका मन्दिरमा आएका हुन् । गत चैते दशैंदेखि कालिका मन्दिरमा भित्रिएका धार्मिक पर्यटकको संख्याको रेकर्ड राख्न थालिएको छ ।
कालिका मन्दिरमा दशैं र चैते दशैंमा बढी महत्वका साथ भक्तजनहरु पुग्नेगरेका छन् । दशैंको पहिलो दिन घटस्थापना देखि नवरात्रको दिन सम्म करिब चार लाख भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
कालिका मन्दिरमा मुस्ताङ भ्रमणका लागि हिडेका स्वदेशी तथा विदेशी पर्यटकहरु समेत आउन थालेपछि धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको हो । विशेषगरी भारातीय पर्यटकहरु समेत पछिल्लो समय मन्दिर दर्शनका लागि आउने गरेका छन् ।
खड्काका अनुसार भक्तजनहरुका सवारीसाधनले कालिका मन्दिरको पार्कीङ स्थल भरिएका कारण रामरेखा सामुदायिक वनको पार्कीङमा अतिरिक्त व्यवस्थापन गरिएको थियो । कालिका मन्दिरमा सबैभन्दा बढी एक लाख भन्दा बढी दर्शनार्थी आएका थिए । मन्दिरमा भाकल गर्ने, पशु बली गर्नेको समेत भीडनै लागेको थियो । दर्शनार्थीका लागि सुरक्षा व्यवस्था मिलाइएको थियो । मन्दिरमा दर्शनार्थीको चापलाई मध्यनजर गरी दुईवटा लाईनको व्यवस्था मिलाइएको थियो ।
मन्दिरमा बली दिने परम्परा विस्तारै घटेपनि नरिवल चढाउने र दान गर्ने परम्पा बढ्दै गएको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली हुने गर्दछ भने परेवाको बली दिन निषेध गरिएको छ । मन्दिरमा परेवा उडाउन मात्र पाइने गरिएको छ ।
देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दशैंको रौनक देखिएको छ भने कालिका मन्दिर आउने पर्यटकहरु चढेका सवारीधासन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परेको छ ।
बागलुङ जिल्ला सहित छिमेकी जिल्ला म्याग्दी, मुस्ताङ, पर्वत र चितवन, बुटवल, काठमाण्डौं, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
दशैं र तिहारमा मुस्ताङ भ्रमणका लागि आउने हजारौं पर्यटकहरु कालिका मन्दिर आउन थालेपछि मन्दिरमा आउिने धामिर्कक पर्यटकहरुमा वद्धि भएको हो ।
दशैं र चैते दशैंमा कालिका मन्दिरमा भीड लाग्ने गरेको छ । ३ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएपनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटकहरु बढ्दै आएका छन् । प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्नाले मनोकामना पुराहुँने जनविश्वास रहेको छ ।