डम्मर बुढा मगर, बागलुङ
बागलुङको सबैभन्दा दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको विनियोजन गरेको रकमले सडक कालोपत्र गर्न थालेको हो । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि गाउँपालिकाको केन्द्र बोङदोभानसम्मको १० किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो ।
वि.सं. २०७० सालमा ट्रायक खुलेको सडक वि.सं. २०७६ सालमा ग्राभेलिङ गरिएको थियो । ग्राबेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नु परेको थियो ।
सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बालेपत्र आह्वान गरि एसी कन्स्ट्रक्सनलाई जिम्मा लिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि १२ करोड ७४ लाखमा जिम्मा पाएको हो । यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोड मात्रै बजेट विनियोजन गरेको छ । बहुवर्षे ठेक्का अन्तरगत रहेको यो आयोजना वि.सं.२०८३ साउन १९ गते सक्ने गरि जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताउनुभयो । काम सुरु गरेको भन्दै सरकारले बजेट पठान ढिला नगरे समयमै सक्ने उहाँको भनाइ छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले तमानखोलामा अहिलेसम्म कुनै पनि स्थानमा कालोपत्र सडक नभएको भन्दै पहिलो पटक पालिका केन्द्र जोडिने सडक पक्की बन्न थालेको बताउनुभयो । पालिकाको बजेटले निकै कम हुने हुँदा सडक कालोपत्र गर्न नसकिएको भन्दै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उहाँको भनाइ छ ।
सडक निर्माण भएको यतिका वर्षसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढा मगरले बताउनुभयो । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुई वटा पुल केही वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात संचालन हुने उहाँको भनाइ छ ।
“भौगोलिक हिसाबले तमानखोला त्यत्ति मिलेको छैन, यहाँ सानो विकासका लागि ठूलो बजेट खर्च गर्नु पर्छ, पालिकाको स्रोत र साधान निकै कम छ, यद्यपी आधारभूत विकास भने गरि रहेका छौँ, सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्र गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सकड कालोपत्र गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ, यस वर्ष प्रदेश सरकारले सानो बजेटबाट सडक कालोपत्र गर्न थालेको छ” अध्यक्ष बुढा मगरले भन्नुभयो ।