डम्मर बुढा मगर, बागलुङ
बागलुङमा आलु खेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले आलु खेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ । बागलुङको तमानखोला, ताराखोला, निसीखोला काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिका लगायतका क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोहोत्सानसमेत गर्न थालिएको हो ।
गत वर्ष ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानीमा आलु आर्थिक वर्ष रु एक करोड ५९ लाख लगानी गर्न थालेको हो । गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलु खेतीका लागि रु तीन करोड ६० लाख विनियोजन कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । पोहोर साल ज्ञान केन्द्रले १३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उहाँको भनाइ छ । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ ।
प्रमुख सिलवालका अनुसार यस वर्ष तीन हजार ७०० हेक्टर मा लगाइएको थियो । गत वर्षको तुलनामा बढी क्षेत्रफलमा आलु लगाए पनि उत्पादनमा ह्रास आउँदा ५६ हजार २४० मेट्रिकटन मात्र आलु उत्पादन भएको प्रमुख सिलवाल बताउनुहुन्छ । उहाँले चैत र बैशाख महिनामा लामो खडेरी पर्दा उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ । गत वर्ष प्रति हेक्टर १६.५ टन आलु उत्पादन भएकोमा यस वर्ष प्रति हेक्टर १५.२ मेट्रिकटन मात्रै उत्पादन भएको सिवालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “पछिल्लो समय बागलुङका किसानले आलु खेतीप्रति निकै चासो दिनु भएको छ, प्रदेश सरकारले पनि वर्षेनी बजेट विनयोजन गर्दै आएको छ, पहिले पुरानो शैलीमा खेती गर्ने किसानले अहिले आधुनिक प्रबिधिको प्रयोग गर्दै जानु भएको छ, ज्ञान केन्द्रले अहिले किसानलाई तालिम, आवश्यक बिउ, यन्त्र उपकरण र प्राबिधिक सहयोग गर्दै गएको छ ।”
बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवन लगायतका शहरमा पुग्ने गरेका छन् । किसानले हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री गर्दै आएका छन् । लामो समयको खडेरीका कारण अघिल्लो वर्षको तुलनामा झण्डै १५ प्रतिशत कम आलु उत्पादन भएको ढोरपाटन नगरपालिका–९ किसान झकेन्द्र विकले बताउनुभयो । गत वर्ष करिब चार लाखको आलु विक्री गरेकोमा यस वर्ष रु दुई लाख ८० हजारको मात्रै विक्री गरेको उहाँको भनाइ छ ।
“किसानका लागि कृषि ज्ञान केन्द्रले राम्रो सहयोग गरेको छ, आलुको बिउ दियो, सिंचाइका लागि पाइप उपलब्ध गराइयो, अरु यन्त्र पनि दियो, पहिले सामान्य तरीकाले आलु खेती गथ्र्यौँ, अहिले प्राबिधिकले भने अनुसार गछौँ” विकले भन्नुभयो – “यस वर्ष के मिलेन कुन्नी ?, सुरुमा बोट राम्रो थियो, उत्पादन चाहीँ कम भयो ।”