आदर्श अनलाइन, बागलुङ
राजनीतिक दलहरुका बीच प्राय आरोप प्रत्यारोप चल्ने गर्छ । आफ्नो पार्टीले गरेका राम्रा कामको प्रचार र नराम्रा लुकाउने मात्रै होइन, अरुले गरेका राम्रा लुकाउने र नराम्राको प्रचार गर्ने प्रवृति पनि धेरै पहिले देखि राजनीतिक दलहरुमा देखिन्छ ।
चुनावदेखि चुनावसम्म राजनीतिक दलका नेता कार्यकर्ताको भाषण, छलफल, अन्तरक्रिया होस् वा जनतासंगको सम्वाद नै किन नहोस्, एकले अर्कालाई विरोध गर्ने, आलोचना गर्ने गरेका उदाहरणहरु थुप्रै छन् । बागलुङका कतिपय गाउँहरुमा त भिन्न विचार राख्ने राजनीतिक दलका नेता कार्यकर्ताबीच कुटाकुट हुने गरेका घटनाहरु पनि प्रशस्त छन् ।
राजनीतिक दलहरु समाज रुपान्तरणका महत्वपूर्ण आधार हुन्, यदी उनीहरुले सही रुपमा समन्वय गरेर अगाडि बढ्ने हो भने राज्य संयन्त्रबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै विकास निर्माणमा समेत सुधार संभव छ ।
विगतका त्यस्ता घटनाहरुबाट अनुभव लिएर होला, यतिबेला बागलुङका राजनीतिक दलहरु विकास निर्माण र सेवा प्रवाहका सवालमा एक ठाउँमा उभिने प्रतिवद्धता गरेका छन् । यद्यपी यस्ता प्रतिवद्धताहरु कति कार्यान्वयन हुन्छन्, त्यो समयले देखाउने छ ।
यसैसन्दर्भमा नेकपा एमाले बागलुङको संयोजनमा शुक्रवार बागलुङमा क्रियाशिल राजनीतिक दलहरुबीच अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । अन्तरसम्वाद मार्फत जिल्लाको आर्थिक, समसामयिक र विविध समस्या समाधान गर्नका लागि जिल्लाका क्रियाशिल राजनीतिक दलका नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।
जिल्लाका समस्या समाधान र विकासमा सन्दर्भमा सबै राजनीतिक दलको साझा धारणा हुनु पर्ने भन्दै अध्ययन, अनुगमन, परामर्श र सरोकारवालासँग छलफल गर्नका लागि राजनीतिक दलहरुले आलोपालो बैठकको संयोजन गर्ने निर्णय गरेको नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
आजबाट शुरु भएको सर्वदलीय वैठकलाई निरन्तरता दिने र आगामी बैठकको संयोजन नेपाली काँग्रेसले गर्ने, बैठकमा पार्टीका अध्यक्ष वा तोकिएको प्रतिनिधि सहभागी हुने, आवश्यक परेको खण्डमा विज्ञहरुसंग परामर्श लिने निर्णय गरिएको छ ।
सो अवसरमा जिल्लामा अलपत्र परेका विकास निर्माणका काम, सेवा प्रदायक संघ संस्था र कार्यालयबाट प्रदान हुने सेवा, आर्थिक सम्वृद्धि र व्यवसायीक वातावरण, सामाजिक न्याय र साँस्कृतिक रुपान्तरणका लागि बागलुङका राजनीतिक दल एकठाउँमा उभिने निर्णय भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मनकुमारी केसीले जिल्लाको शिक्षा, स्वास्थ्य, विकास निर्माण र जनताको जनजिविकासँग जोडिएका विषयहरुमा सम्पूर्ण राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताउनु भएको थियो ।
उहाँले जनप्रतिनिधि, कर्मचारी र सम्पूर्ण सरोकारवालालाई ध्यानाकर्षण गराउनु, कमी कमजोरी औल्याउँनु र काम गर्न सघाउनु राजनीतिक दलको दायित्व भएको भन्दै सबै राजनीतिक दल एकठाउँ उभिए यि सबै काम सम्पन्न गर्न सम्भव हुने बताउनु भएको थियो ।
कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य डा.सुर्य पाठक, नेपाली काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापा, नेपाल समाजवादी पार्टीका चित्र सापकोटा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी उत्तम ‘सी’ लगायतले धारणा राख्नु भएको थियो ।
उहाँहरुले जिल्लाको विकासका लागि धारणा साझा गर्न सम्पूर्ण दल र नेता एकठाउँ उभिनुको विकल्प नभएको बताउनु भएको थियो ।
कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता र उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।