पर्यटकीय पूर्वाधार बनाउन महायज्ञ


खेमराज गौतम, बागलुङ

बागलुङकोे पर्यटकीय स्थल गाजाको दहमा पूर्वाधारको अभाव छ । नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत भइसक्दा समेत गुमनाम रहेको जागा दहलाई बाहिर ल्याउन स्थानीय एकजुट भएका छन् ।

प्रचार प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रर्बद्धन गर्न त्यहाँका स्थानीय कस्सिएका छन् । गाजाको दह संरक्षणमा प्रयाप्त लगानी नगर्दा क्रमश दह सुक्दै गएको छ ।

पछिल्लो दुई वर्ष यता पूर्वाधारका लागि बजेट आएको छैन । गाजा दशको प्रचारप्रसार संगै पूर्वाधार निर्माण गर्नका लागि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ गर्ने भएका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचार प्रसार र सिद्ध बराहको पुननिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ गर्न थालिएको छ ।

गाजादह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले महायज्ञ गर्न थालिएको वडा अध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो ।

“प्राकृतिक र धार्मिक हसिावले अत्यन्तै महत्वपूर्ण गाजाको दहलाई उजागर गर्ने मुख्य उद्देश्य हाम्रो हो, पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पु¥याउनेछ” भुजेलले भन्नुभयो “धार्मिक केन्द्रको रुपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”

सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा मंसिर ८ गतेदेखी १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ गर्न थालिएको हो । महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने छ । धार्मिक आस्थाको केन्द्र समेत रहेको गाजा दहमा रहेका सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुननिर्माण समेत गरिने छ ।

गाजा दहको एकिकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य सिद्ध बराह मन्दिर संरक्षण समितिको छ । गाजा दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गाजा दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्य राखेर महायज्ञ गर्न लागिएको छ ।

धार्मिक आस्था संग जोडिएर देश विदेशमा रहेका स्थानीयहरुले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोक बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

महायज्ञमा मंसिर ८ गते दिउँसो १ बजे भजनकिर्तन, बाजागाजा, शोभा यात्रा गरी ज्ञान महायज्ञको उद्घाटन गरिने, ९ गतेदेखि हरेक दिन बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद बितरण कार्यक्रम तय गरिएको छ ।

महायज्ञमा प्रमुख वाचकको रुपमा शिवदत्त रेग्मी आउने कार्यक्रम तय गरिएको छ । मंसिर १५ गते बालाचर्तुदशीको अवसरमा शतबीज छर्ने कार्यक्रमको शुभारम्भ अतिथि वाचकको रुपमा धु्रव सापकोटा रहने आयोजकले जनाएको छ ।

महायज्ञमा संकलन भएको रकमले गाजा दहको प्रचार प्रसार, पूर्वाधार र सिद्ध बराहको पूननिर्माण गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *