करिडोरको बलेवा–मालढुङ्गा खण्डले गति लिएन


खेमराज गौतम, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ ।

कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसंग गरिएको सम्झौता २०८१ मंसिरमा सकिदै छ । तर सडकको प्रगति भने जम्मा ५० प्रतिशत मात्रै रहेको छ ।

निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गर्दा समेत कामले गति लिन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । दुई वर्षमा सक्नेगरी सम्झौता भएपनि बल्ल आधा मात्रै काम भएको आयोजनाको भनाई छ । बलेवा–मालढुङ्गा खण्डको गलुवामा गएको पहिरोले ट्रयाक बगाउदा करिडोर निर्माणले समेत गति लिन नसकेको हो ।

मिति सकिनै लाग्दा आधा मात्रै काम भएको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो । खत्रीका अनुसार बलेवा–हर्मिचौरको ४४ किलोमिटरमा सम्झौता अगावै काम सक्नेगरी कालोपत्र भइरहदा भइरहदा छोटो खण्डको रुपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमि सडकले तिब्रता पाउन नसेकेको हो ।

“सम्झौता नथपे काम सकिने अवस्था देखिदैन, मंसिरमा सम्झौता सकिन्छ, भौतीक प्रगति बल्ल ४८ प्रतिशत पुगेको छ, छोटो खण्डको रुपमा रहेको सडक समेत म्याद नथपी काम नसकिने देखियो” खत्रीले भन्नुभयो “छ महिना म्याद थपेर निर्माण कम्पनीलाई ताकेता गर्ने हो चालु वर्षमै काम सक्नेगरी निर्देशन गरेका छौं ।”

खत्रिका अनुसार १० किलोमिटर दूरी रहेको यो खण्डका लागि रु.५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे । सम्झौता अनुसार २ वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरिसक्नु पर्नेमा आधा मात्रै काम गरेपछि स्पष्टिकरण सहित म्याद थप्ने तयारी आयोजनाको छ ।
असार मसान्त सम्म कालोपत्र गर्नेगरी कामले तिब्रता दिन थालिएको निर्माण कम्पनी बिडारी कन्ट्रक्सनले जनाएको छ ।

निर्माण व्यवसायी धुव्र बिडारीले शुरुमा निर्माणले तिब्रता पाएपनि समयमै भुक्तानी नपाउदा समस्या भएको जानकारी दिनुभयो ।

“पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ गलुवामा बगेको ट्रयाकले समस्या पारेको हो, हामीले तसैलाई ढिला बनायो, अब कामले तिब्रता पाउछ, छ महिनाको म्याद मागेका छौं, असार मसान्त भित्र काम सक्ने लक्ष्य रहेको छ ।” बिडारीले भन्नुभयो ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रेका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्र्भट र ग्याबिन जाली लगायतका पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको भएपनि ४४ किमि सडक कालोपत्रको चरणमा पुग्दा १० किमि सडकमा ढिलाई भएको हो ।

करिडोरका कारण कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै देखिएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी ठेक्का लगाएको थियो ।

कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।
करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपालको उत्तरी सिमा चीनको कोरला र दक्षिणी सिमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *