स्थानीय उत्पादनको बजारीकरण गर्न ‘बागलुङ कोसेली घर’


खेमराज गौतम, बागलुङ
गाउँघरमा बजार नपाएर खेर गइरहेको कृषि उपजलाई बजारीकरण गर्न थालिएको छ । उद्योग बाणिज्य संघ बागलुङले स्थानीय उत्पादनको खरिद गरी ब्राण्डीङ गरेर कोसेली घर मार्फत विक्रि गर्न थालेको छ ।

उद्योग वाणिज्य संघ बागलुङले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरेको छ । उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्गानिक उपज, हस्तकला सामाग्री, पर्यटकीय स्थलको फोटो लगायतका वस्तुहरु विक्रि गरिने छ ।

स्थानीय उत्पादनको संकलन गरी ब्राण्डीङ गरेर बिक्री गर्ने उद्देश्यले बागलुङ उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकार, पर्यटन तथा उद्योग कार्यालय, बागलुङ नगरपालिकाको सहयोगमा कोसेली घर स्थापना गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

“गाउँमा उत्पादन भएको सिन्की, भट्टले बजार पाउदैन, बजारका ठूला होटलमा बाहिरबाट सिन्की आउछ, बजारको जिम्मा लिने कोही नहुँदा सानो परिणाममा उत्पादन भएको कृषि उपज गाउँमै खेर जान्छ” कँडेलले भन्नुभयो “बजारीकरणको जिम्मा उद्योग वाणिज्य संघले लिएपछि गाउँबाट बजार झर्दा छोलामा बोकेर कृषि उपज ल्याए भैहाल्यो, हामीले ब्राण्ड बनाएर बिक्रि गर्ने गरेका छौं ।”
कोसेली घरमा सिन्की देखि नेपाली कागजका सामाग्री पाइने कँडेलको भनाई छ । सिन्की, भट्ट, भाँगो, टिमुर, हस्तकला, बाँसबाट बनेका सामाग्री मायाको चिनो, बागलुङका पर्यटकीय स्थलको फोटो, हातले बुनेका कपडा, काठबाट बनेका भाडा कुँडा लगायतका सामाग्री बिक्रि गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारको रु. ३ लाख ७२ हजार, पर्यटन तथा उद्योग कार्यालयको रु. ५ लाख, बागलुङ नगरपालिकाको २ लाख र उद्योग वाणिज्य संघ बागलुङको रु.९ लाख गरी रु. १९ लाख ७२ हजारको लागतमा कोसेली घर सञ्चालनमा आएको महासचिव ऋषिराम गोतमले बताउनुभयो ।
गौतमका अनुसार उद्योग वाणिज्य संघले कोसेली घरलाई दीर्घकालिन गराउनका लागि ५ लाखको सामाग्री खरिद तथा चार लाखको कोष स्थापना गरेको बताउनुभयो । उक्त कोषबाट सामाग्री खरिद र बिक्रीका लागि दीर्घकालिन रुपमा सहयोग पु¥याउने छ ।

कोसेली घर लक्ष्मी पुजाको दिनबाट शुभारम्भ गरिएको छ । मायाको चिनोका रुपमा प्रयोगमा आउने सामाग्री दिनका लागि समेत कोसेली घर उपयुक्त हुँनेछ । विदेशमा समेत रहेका आफन्तलाई कोसेली पठाउन कोसेली घर प्रभावकारी बन्ने देखिएको छ । कोशेली घरको लक्ष्मी पुजाको दिन प्रदेशसभा सदस्य जस्त शेरचनले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले अब कृषि उपजलाई बजारीकरणको चिन्ता नरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *