आदर्श अनलाइन, बागलुङ
तिहारले बागलुङ बजारलाई छपक्कै छाएको छ । चोक–चोक र सडकमा भैलेरीले बजारलाई संगीतमय बनाएको छ । चोक–चोक र गल्ली–गल्लीमा देउसी भैलो गुन्जिएको छ भने घर झिलिमिलि पारिएको छ । संगीतमय बनेको बजारमा बेला–बेला बम झैँ पड्कीने पटकाले बजारवासीलाई त्रसित समेत बनाउने गरेको छ । सरकारले प्रतिबन्ध गरेको पटकाले बागलुङ बजारलाई आतंकितनै बनाएको छ ।
विगतका वर्षमा पटका लुकीछिपी एकाध रुपमा पड्किए पनि यस वर्ष खुलमखुल्ला विक्री गर्ने र पड्काउने गरेका छन् । प्रहरीले बागलुङ बजारमा खुलामखुला पटका पड्काउने कसैलाई पनि नियन्त्रण गर्न सकेको छैन । प्रहरीले नियन्त्रण नगर्दा स्थानीय पटकाको आवाजले त्रसित बनेका हुन् ।
चोक चोकमा पटका पड्कदा समेत प्रहरी प्रशासनले कान थुनेर बसेको स्थानीय बताउँछन् । सरकारले रोक लगाएको पटका र जुवा तास नियन्त्रणमा प्रहरीले तगारुकता नदिएको पाइएको हो । पटकाको आवाजले बागलुङ बजारमा आतंक फैलदा प्रहरीले अहिले सम्म नियन्त्रणमा लिन नसक्नु लज्जाको विषय बनेको छ ।
बजारका पसल पसलमा खुलेआम पटका विक्री वितरण हुँदा स–साना बालबालिकालेसमेत पड्काउने गरेका छन् । चाड पर्वको समयमा विशेष सुरक्षा नीति बनाएको नेपाल प्रहरीको दशैंमा जस्तो गस्ती समेत देखिएको छैन । असुरक्षित तरिकाले सडकनै बन्द गरेर खेलिरहेको देउसी भैलोमा ट्राफिक प्रहरी समेत नदेखिएको स्थानीयको गुनासो छ ।
चाडबाडको बेला सुरक्षा चुनौति बढ्नु स्वभाविक हो । तर अहिले जिल्ला प्रहरी कार्यालय बागलुङको कमाण्ड प्रहरी निरीक्षक केशव थापाले सम्हाल्नु भएको छ । प्रहरी उपरीक्ष ऋषिराम कँडेल र प्रहरी नायव उपरीक्षक विजय यादव बिदामा छन् । निरीक्षक थापाले बागलुङ बजारबाट अहिले सम्म पटका र मानिस पक्राउ नगरेको बताउनुभयो ।
जिल्लामा पटका निर्वाद पड्के पनि बरामद नहुनेले प्रहरीमाथि प्रश्न उठाएको छ । अघिल्ला वर्षहरुमा धमाधम जुवाडे पक्राउ गर्ने प्रहरीले अहिले किन पक्राउ गर्न सकेन भन्ने विषयमा नागरिकले चासो राखेका छन् ।
प्रहरी उपरीक्ष कँडेल स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाण्डौ आएको बताउनुभयो । जिल्लाको सुरक्षा व्यवस्थाका लागि प्रहरीलाई परिचालन गरिरहेको उहाँको भनाइ छ ।
बागलुङ जिल्लामा चाड पर्वमा हुन सक्ने घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पार्न प्रहरीलाई निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताउनुभयो । पटकाको आवज बागलुङ बजारमा आइरहेको भन्दै प्रहरीलाई थप क्रियाशील हुन निर्देशन दिएको उहाँको भनाइ छ ।