नेपालीहरुको महान पर्व बडादशैं पछिको दोस्रो ठुलो पर्व तिहार पर्वको रौनकता देशभर छाएको छ । शहर बजार र गाउँ पुरै झिलिमिली बनेका छन् । तिहारमा खेलिने देउसी भैलोले टोल र बस्तीहरु गुञ्जयमान बनेका छन् । यमपञ्चक अर्थात् तिहारका पाँच दिने भिन्न भिन्न रुपमा गरिने पुजा कर्मले साँस्कृतिक विविधता र महत्व दर्शाइरहेको छ । कागतिहार, नरकचतुर्दशी एवं कुकुरतिहार, गाईतिहार (लक्ष्मीपूजा वा दीपावली) गोरुतिहार (गोवर्धन पूजा) र भाइटिकाले दिदि भाइ दाजु बहिनी, मानिस र पशुवत सम्बन्धलाई पृथक रुपमा उजागर गरिरहेको छ । यस पर्वमा विशेषगरी दाजुबहिनी र दिदीभाइले एक–अर्कालाई सम्झने गर्छन् । दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेर भाइटिका मनाइन्छ । यमपञ्चक अर्थात तिहारका पाँच दिन काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा र गोवर्धन पूजाको समेत विशेष महत्व हुन्छ । किनभने यी पर्वसँग खासखास मान्यता जोडिएका छन् ।
यद्यपि, पछिल्लो समय आधुनिकतासँगै तिहार मनाउने तरिकामा परिवर्तन आएका छन् । यद्यपि हामीकहाँ भिन्न–भिन्न समुदायले आ–आफ्नै मौलिक किसिमले यो पर्व मनाउँदै आएका छन् । तिहारलाई पछिल्लो समय दीपावली भनिए पनि मिथिला क्षेत्रमा यसलाई पहिलेदेखि नै ‘सुखराती वा सुखरात्रि’का रुपमा मनाउँछन् भने नेवार समुदायले समग्र तिहारलाई स्वन्तीका रुपमा मनाउँछन् । नेवार समुदायले यही बेला नयाँ वर्ष (नेपाल संवत् अनुसार वर्ष फेरिने दिन) समेत मनाउँछन् । यही नयाँ वर्षकै दिन म्हपूजा गरिन्छ । म्ह पुजा भनेको आफ्नो शरीरको पूजा हो । बौद्ध समुदायहरूले समेत यक्षिणीका रूपमा पूजा गर्ने चलन छ ।विभिन्न कालखण्डमा शास्त्रीय यमपञ्चकमा विभिन्न सांस्कृतिक पक्षहरू मिसिएर नेपालमा अहिले मनाइने तिहारको रूपरेखा बनेको हो ।
तिहार नेपालीको मौलिक पर्व हो । यद्यपि, तिहार पर्वको पुरानो परम्परागत मौलिकतामा भने समयको आधुनिकिरणसँगै बदलाव आइरहेको छ । मादल, सोरठी, मौलिक गीत गाएर बजाएर नाचेर खेलिने देउसी भैलो अहिले स्पिकर बजाएर हिन्दी, अंग्रेजी र छाडा गीतमा नृत्य गर्ने प्रवृत्तिकोे विकास हुँदैछ । कृतिम तथा आयातित विद्युतीय बत्तीको प्रयोग बढ्दो छ । दीपावलीका रुपमा मनाइने तिहारमा माटोका दियो करिब विस्थापित नै हुने अवस्थामा छन् । तिहारमा लगाइने मखमली र सयपत्री फूलको मालाको स्थानमा आयातित कृतिम मालाको प्रयोग बढेको छ । अर्को तर्फ तिहारलाई धन ,सम्पत्ति प्रदर्शन गर्ने, खर्च बढी गर्ने,जुवा तास खेल्ने, अहम्ता देखाउने अवसर तथा माध्यमका रुपमा पनि दुरुपयोग गरिएको छ । हाम्रा यी अनेकन प्रचलन समय सापेक्ष अनुसार नहुन सक्छन् तर समय सापेक्ष परिष्कृत र परिमार्जन गरेर मनाउन सके यी र यस्ता चाडपर्वको गरिमा र महत्व अझ बढ्न सक्छ । यस्ता पर्वहरु केवल अवसर होइनन् । ऐतिहासिक, धार्मिक, परम्परागत मान्यता र क्रियाकलापको निरन्तरता हुन् । तसर्थ ती मान्यता र मौलिकतालाई निरन्तरता दिनु नै पर्व मनाउनुको सार्थकता हुन्छ । तिहारलाई तिहारकै मान्यता र संस्कृति अनुसार मनाउनु पर्छ । समाजको बहुआयामिक महत्व बोकेको तिहार पर्वको पहिचान र विशेषता मेटाउनु हुँदैन । बद्लिदो परिवेशसँगै परिवर्तन हुनु र उपलब्ध स्रोत र साधनको प्रयोग गर्नु स्वभाविक हो । तर,परम्परागत मूल्य, मान्यता,सामग्रीको विनाश गरेर पराम्परागत पर्व मनाउनु कुनै पनि हिसाबले वाञ्छनीय हुँदैन । मौलिकता सहितको तिहार पर्व मनाउन अनुरोध सहित हाम्रा प्रिय सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक शुभचिन्तक सबैमा हार्दिक शुभकामना ।