खेमराज गौतम, बागलुङ
मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा अभियान मंगलबार २३ औं दिन बागलुङ आइपुगेको छ । बागलुङ आएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी, उद्दार अभियानका सहयोगकर्ता आनी छोयङ्ग डोल्मा सहितको ५० सदस्ययी समूहले अहिले सम्म १६६ सडक मानवको उद्दार गरेको जनाएको छ । उद्दार हुनेमा १२३ पुरुष, ३८ महिला, चार बालिका र एक बालक रहेका छन् ।
अभियानकै क्रममा अहिले गण्डकी प्रदेशमा उद्दार अभियान चलिरहेको बताउदै सोमबार पोखराबाट दुई बालिकाको उद्दार गरेको र मंगलबार म्याग्दी जिल्लाबाट चार जनाको उद्दार गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । “पोखरामा दुई बालिकाको उद्दार गरी संगै लिएर हिडेका छौं, उहाँहरुको नाम मायादेवि र यसोधरा राखेका छौं” अधिकारीले भन्नुभयो “बागलुङबाट थालेको उद्दार अभियान म्याग्दी सम्म पुगेको थियो म्याग्दी सदरमुकाम बेनीबाट दुई महिला र दुई पुरुषको उद्दार गरी बागलुङ ल्याइएको छ ।
मानव सेवा आश्रम बागलुङले हेरिरहेको म्याग्दी, मुस्ताङ, पर्वतमा समेत उद्दार अभियान समय–समयमा गरिरहेको मानव सेवा आश्रम जिल्ला शाखाका संयोजक विपना तामाङले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बागलुङमा धौलागिरीका चार जिल्लामा रहेका सडक मानवको उद्दार अघि बागलुङमा अन्तरक्रिर्या कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बागलुङका स्थानीय तिर्थ प्रसाद श्रेष्ठले निर्माणधीन मानव सेवा आश्रम बागलुङको भवन निर्माणको एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले मानव सेवा आश्रमको पर्यावाचीनै मानवता भएको बताउदै अभियानलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।
धौलागिरीका चार जिल्ला हेर्ने गरी बागलुङमा शाखा कार्यालय २०७३ सालमा स्थापना भएपछि भाडाको घरबाट सेवा दिइरहेको छ । उक्त शाखामा अहिले ६३ जना सहयोगापेक्षी मानव आश्रीत रहेका छन् । अहिले मानव सेवा आश्रम बागलुङ शाखाको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण भइरहेको छ ।
चाड पर्वमा कोही सडक पेटीमा बस्न नपरोस भन्ने उद्देश्यले मेची महाकाली राष्ट्रिय उद्दार अभियान असोजको २६ गते शुरु गरिएको थियो । उक्त अभियानकात्तिक २८ गते समापन हुनेछ । उक्त अभियानको खर्च आनी छोयङ्ग डोल्माले गर्नुभएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
बागलुङमा सडक मानव नरहेको बताउदै मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले म्याग्दीबाट चार जना सडक मानवको उद्दार गरेर बागलुङ ल्याएको बताउनुभयो ।
२०८२ सालमा नेपाललाई सडक मानव मुक्त घोषणाका लागि राष्ट्रिय उद्दार अभियानले सहयोग पु¥याउनेछ ।
सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।