देउसी भैलोको रकमले मगर सांस्कृतिक महोत्सव

आदर्श अनलाइन, बागलुङ
नेपाल मगर संघ बागलुङले यस वर्षको तिहारमा संकलन गरेको रकमबाट मगर सांस्कृतिम महोत्सव गर्ने भएको छ । नेपाल मगर संघ बागलुङले तिहारमा खेलेको देउसी भैलोबाट रु. ९ लाख संकलन भएको जनाएको छ । जसमध्ये रु. एक लाख ८० हजार खर्च भएको जनाएको छ ।

तिहारमा खेलिने देउसी भैलो पछिल्लो समय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खेलिएको मगरसंघ बागलुङले जनाएको छ । देउसी भैलोलाई मौलिकता झल्काउनेगरी प्रस्तुत गरेर संकलन गरेको रकमले प्रथम मगर सांस्कृतिक महोत्सव गर्न थालिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्याम पुनले जानकारी दिनुभयो ।

लोप हुन थालेको मगर संस्कृतिको जर्गेना गर्ने, संस्कृतिको श्रव्यदृश्य सामाग्री तयार गर्ने र लोपन्मुख शालैजो, ख्याली, कौडा, मारुनी, सती घाटु जस्ता नाचहरुको संरक्षणमा सहयोग पु¥याउन देउसी भैलो सञ्चालन गरिएको पुनले बताउनुभयो ।

“पुस्तान्तरणको अभावमा मगर संस्कृति लोप हुने खतरा भयो, कम्तिमा श्रब्यदृश्य सामाग्री उत्पादन गर्ने, मगर सांस्कृतिक महोत्सव सञ्चालन गरी व्यपाक प्रचार प्रसार गर्ने, मगरका खानाका परिकारलाई प्राथमिकता दिने हाम्रो उद्देश्य हो” पुनले भन्नुभयो “यो पटक देउसी भैलोबाट संकलन भएको रकमको जगमा टेकेर मगर सांस्कृतिक महोत्सव गर्ने योजना हो, स्थानीय तहले समेत महोत्सवलाई सघाउनेछ ।”

संकलित रकमले लोपन्मुख मगर संस्कृतिको प्रचार प्रसार र संरक्षणमा टेवा पु¥याउदै देउसी भैलो कार्यक्रमलाई आगमी दिनमा समेत निरन्तरता दिने पुनको भनाई छ । पछिल्लो समय देउसी भैलोमा समेत विकृति मौलाउदै गएको भन्दै देउसी भैलोलाई मौलिकता दिनेगरी प्रस्तुत गरिएको मगर संघका प्रचार प्रसार संयोजक संघम घर्तीले बताउनुभयो ।

उहाँले देउसी भैलोमा मारुनी, सालैजो, यानिमाया, थाली नाच, सोरठी, कौडा, ख्याली र सुनिमाया जस्ता गीतहरुले देउसी भैलोलाई मौलिकता दिदै पुस्तान्तरणको प्रयास गरेको बताउनुभयो । उहाँले देउसीभैलोको माध्यमबाट समेत मगरसंस्कृतिको पुस्तान्तरण गर्नका लागि तीन पुस्तानै देउसी भैलोमा समावेश गरिएको जानकारी दिनुभयो ।

“देउसी भैलोले रकम संकलन संगै सामाजिक र मगर संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेको थियो, संकलन भएको रु. ९ लाख मध्ये खर्च कटाएर बचेको रकमले बागलुङका १० पालिकाको मगर संस्कृतिलाई एकिकृत गर्दै लिपिबद्द गर्नेछ” घर्तीले भन्नुभयो “तीन पुस्ता मिलेर खेलेको देउसी भैलोले आफ्नो संस्कार र सस्कृतिलाई समेत पुस्तान्तरण गर्ने प्रयास थालेको छ ।”

प्रथम मगर महोत्सवले मगर संस्कृतिलाई उजागर गरी पर्यटनको विकासमा सघाउने अपेक्षा मगर संघको रहेको छ । आगामी माघमा बागलुङमा प्रथम मगर सांस्कृतिक महोत्सव गर्ने मगर संघ बागलुङको तयारी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *