डम्मर बुढा मगर, बागलुङ
बुर्तिबाङ बजारदेखि अर्नाकोट जाने सडक छेउमा फलामे जालीले ठूलो क्षेत्र घेरिएको छ । चारै तिर जालीले घेरिएको बारीमा सयौँको संख्यामा कालिज (वन कुखुरा) देखिन्छन् । सडकमा यात्रा गर्ने जोकोही एकै छिन रोकिएर कालिज नियाल्छन् । साना ठूला रहर लाग्दा कालिजले धेरैलाई आकर्षित छन् । वन जंगलमा जाँदा भेटिने कालिज घरमै देख्दा अचम्म लाग्नु स्वभाविकनै हो ।
ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणी कँडेलले छ वर्षदेखि यहाँ कालिज पाल्न थाल्नु भएको हो । पेसाले स्वास्थ्यकर्मी रहनु भएका कँडेलले दिउसोको समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे पनि विहान बेलुका कालिजको स्याहार सुसार गर्दै आउनु भएको छ । ११ वर्ष अगाडि सरकारी सेवामा प्रवेश गर्नु भएका चुडामणिले वि.सं. २०७५ सालदेखि कालिज पालन गर्न थाल्नु भएको हो ।
सुरुमा काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज लिएर सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ । रु २४ हजारमा चार कालिज लिएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु २५ लाख बढी लगानी गरि सक्नु भएको छ । कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफै उत्पादन गर्नुहुन्छ ।
सानैदेखि चरा चुरुङ्गी समाउन र पाल्न रुची राख्ने कँडेलले कालिज पालनमा थालेपछि अवलोकनका लागि दैनिक मान्छेहरु फर्ममा पुग्ने गर्छन् । रहरले सुरु गरेको कालिज पालनले व्यवसायिक रुप लिएपछि अहिले आकर्षक फर्मका रुपमा विकास भएको छ ।
कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फर्म दर्ता गरेर व्यवसायिक रुपमा कालिज पाल्न थाल्नु भएको हो । रुचीले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ । कँडेलको कालिज पालनलाई बुबा तुल्सीराम कँडेलले दरो साथ दिनु भएको छ ।
कालिज पालन सुरु गरेको केही समयमै कोभिड–१९ संक्रमण सुरु भएपछि बिचमा राम्रो गर्न नसके पनि अहिले व्यवस्थित बन्दै गएको उहाँले बताउनुभयो । पछिल्लो समय फर्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफै चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उहाँले सुनाउनुभयो ।
“म सानैदेखि चरा चुरुङ्गीलाई माया गर्थे, समाएर साथमा राख्न मन लाग्थ्यो, पछि बजारमा बसेर पढ्दै गर्दा एउटा कालिज फर्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट महङ्गो शुल्क तिरेर चार वटा कालिज लिएर पाल्न थाले, त्यस बेला मैले व्यवसाय गरुला भन्ने लागेको थिएन” उहाँले भन्नुभयो – “पछि ति चल्ला बढेर दुई सय जति अण्डा दिए, त्यस पछाडि व्यवसायिक गर्नु पर्छ कि भन्ने हिसाबले लागेँ अहिले राम्रो भएको छ, रहरै रहरमा पालेको कालिज अहिले व्यवसायमा रुपान्तरण भयो ।”
कोभिडका बेला एकै पटक ५०० वटा कालिज मरेपछि उहाँले लाखौँ रुपैयाँ नोक्सान व्यहोर्नु परेको थियो । कालिज मरेपछि फर्म रित्तो भएपछि पुनः चल्ला लिएर पाल्न थाल्नु भएको थियो । कालिज फर्मलाई जंगली जनावरबाट बचाउन चुनौति रहेको उहाँको भनाइ छ । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् ।
भाले कालिजलाई रु दुई हजार ५०० र पोथी कालिजलाई रु एक हजार ५०० मा विक्री गर्दै आएको कँडेल बताउनुहुन्छ । दसैँको समयमा करिब ३०० कालिज विक्री भएको सुनाउँदै हाल फर्ममा ७०० रहेको बताउनुभयो । वार्षिक १२ लाखको कालिज विक्री हुने उहाँको भनाइ छ ।
उहाँका बुबा तुलसीराम कँडेलले पछिल्लो समय कालिज हेर्नका लागि धेरै मान्छेहरु आउने गरेको बताउनुभयो । कालिज पालनबारे प्रचार हुँदै गएपछि व्यापार पनि राम्रो हुँदै गएको उहाँको भनाइ छ । तुलसीरामले उत्पादन भएका कालिजले बजार पाउन सके आम्दानी पनि बढ्ने कँडेल बताउनुहुन्छ ।
लगानी र सुरुमा ठूलो मेहनत गरे पनि विस्तारै धेरै दुःख गर्न नपर्ने हुँदा कालिज पालन सहज भएको उहाँको भनाइ छ । एउटा कालिज विक्रीका तयार हुन करिब सात महिना लाग्ने कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो – “सुरुमा त यस्तो व्यवसायिक रुपमा पालन गरिएला भन्ने लागेको थिएन, तर अहिले राम्रो भयो, लगानी पनि ठूलै गरेका छौँ, दिनभरी चारो दिनु पर्छ, गाईभैसीँ पाले जस्तो दुःख छैन, तर मेहेनत चाहीँ गर्नु पर्छ, बुर्तिबाङ बजार नजिक छ, कोही यहीँ आएर पनि किनेर लैजान्छन्, केही बजारमै पु¥याउने गरेका छौँ, हामीले सोचे अनुसारको बजार पाउन सकेका छैनौँ ।”