बागलुङ दुर्घटना : ‘जब गम्भीर घाइतेले उद्दारका लागि गाउँले गुहारे’


खेमराज गौतम, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान भएको जीप दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । जीपमा सवार चालक सहित छ जनामध्ये एक जना मात्रै मृत्युको मुखबाट बाच्न सफल हुनुभएको छ ।

जैमिनी नगरपालिका–८ छिस्ती केवैखानीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीक अप जीप सोही नगरपालिका वडा नम्बर ७ व्यार्थला ढुङगेखानीको भीरमा खसेको थियो ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु हुँदा भाग्यले बाच्न सफल भएका केवैखानीका ४५ वर्षीय गंगा बहादुर श्रीषले आफु जीपबाट उछिट्टिएर भीरमा अड्किए बाँच्न सफल भएको बताउनुभयो । भीरमा जीप खसेपछि बाच्न सफल श्रीषले दाइनेहातले मोवाईल निकालेर गाउँलेलाई उद्दारका लागि बोलाउनुभएको थियो । “बिउझिदा हात खुट्टामा रग लतपतिएको थियो, हात खुट्टा चलाउन खोज्दा दाइनेहात चल्यो, मोवाई निकालेर फोन गरेपछि बल्ल दुर्घटनाको खबर बाहिर आएको थियो” उहाँले भन्नुभयो ।

दुर्घटनामा श्रीषको बुबा ७५ वर्षीय कुल प्रसाद श्रीष, छिमेकी ३८वर्षीय चालक महेन्द्र पुन, २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली श्रीष र १७ वर्षीय निरज श्रीषको घटना स्थलमै मृत्यु भएको छ । घाइते गंगा श्रषीको अहिले धौलागिरि अस्पताल बागलुङमा उपचार पछि पोखरा रिफर गरिएको थियो ।

“म बीचको सिटमा बसेको थिए, उकालोमा गुडिरहेको जीप एक्कासी घुम्तीबाट भीरमा खस्यो, ढोका खोलिएछ, उछिट्टिएर भीरको खोस्लामा खसेछु, होसमा आउदा बुबा सहित अन्य पाँच जनाको अवस्था अज्ञात थियो, मेरो हातखुट्टामा समेत चोटलागेको थियो दाईनेहात चल्यो, गोजीबाट मोवाई निकालेर छिमेकी नरेन्द्र श्रीषलाई फोन गरेर बोलाए ।” दुर्घटनाको खबर पाएका नरेन्द्र श्रीष सहित चार जना शुरुमै घटनास्थलमा आउदा मन थाम्नै नसकेको बताउनुभयो ।

उद्दारमा पुग्नुभएका छिमेकी मोङ बहादुर श्रीषले भीरमा शव यत्रतत्र छरिएको अवस्थामा देखिएको र घाइते गंगा बहादुर खोल्सामा लडिरहेको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
“मलाई फोन हान्नुभएको रहेछ, मेरो फोन नलागेछि नरेन्द्र श्रीषलाई दुर्घटनाको जानकारी स्वंय घाइतेले गारएपछि खबर पाएको १५ मिनेटमै दुर्घटनास्थलमा म सहितको चार जनाकोे समूह पुगेका थियौ” मोङ श्रीषले अस्पतालमा दुर्घटनास्थल संझदै भन्नुभयो “मृत्यु हुँने घाइतेका बुबा सहित अन्य चार जना छिमेकी हुन् ।”

मृतक पाँच जनाकै शव तारे भिरमा अड्किएको अवस्थामा प्रहरीले डोरीको सहायताले निकालेको थियो । दुर्घटनामा जीप अन्दाजी ४०० मिटर तल खसेर क्षत विक्षद भएको छ । दुर्घटनाले सिंगो केवैखानी गाउँनै शोकमा डुबेको स्थानीय प्रकाश पौडेलले बताउनुभयो । पौडेलका अनुसार केवैखानीबाट दैनिक बागलुङ बजार आउजाउ गर्ने जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक केशव थापाका अनुसार घटनास्थल भीरको बीचबाट सडक रहेको बताउदै केही घुमाउरो बाटोबाट सिधै जिप भीरमा खसेको बताउनुभयो । दुर्घटनको कारण भने खुल्न नसकेको थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *