आदर्श अनलाइन, बागलुङ
मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ बजारको उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष विश्वकर्माले पूर्खाको आरन व्यवसाय धान्न पाएकोमा सन्तुष्टी भएको बताउनुहुन्छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको जिरो किलोमिटरमा आरन चलाउँदै आउनुभएको सन्तोषले स्वदेशमै काम गर्न पाएकोमा सन्तुष्ट हुनुहुन्छ । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि भारत जानुभएका सन्तोष अब विदेश जाने सोचमा हुनुहुन्छ । भारतमा लामो समय विताउदा समेत भनेजस्तो कमाउन नसक्नुभएका सन्तोषले नेपालमै आरन पेशाबाट सन्तुष्टी मिलेको बताउनुहुन्छ ।
बागलुङ नगरपालिका–९ तित्याङ घर भएका ४१ बर्षीय विश्वकर्माले आरन चलाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ । भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने काम गर्नुभएका विश्वकर्माले भारतमा सिकेको कामले स्वदेशमा कमाई गरेको बताउनुभयो ।
“भारतमा १० वर्ष सिल्टेको भाडा बनाउने कम्पनीमा काम गरे १६ घण्टा काम गर्नुपर्ने निकै दुःख थियो, कमाई खासै थिएन, तर काम भने सिकियो, भारतमै व्यवसाय गर्ने सोचले सिल्टेबाट बनेका भाडा विक्रि गर्ने काम केही वर्ष गरे, व्यवसायमा घाटा भएपछि नेपाल फर्के” उहाँले भन्नुभयो “पुर्खाको पेशा भारतको सिकाइले मलाई आत्मबल मिल्यो, बालीघरे प्रथाले गाउँमा पहिला खासै आम्दानी थिएन बागलुङ बजार झरेपछि आरनले व्यावसायिकता पायो, अहिले नाम जस्तै सन्तुष्ट बनेको छु ।”
आफ्नै देशमा काम गर्न पाएकोमा सन्तोष खुसी हुनुहुन्छ । साथीभाईहरु अहिले रोजगारीका लागि विभिन्न देश पुगेपनि भारतबाट फर्केपछि विदेश जान मन नलाएको उहाँको भनाई छ ।
“आरन व्यवसायबाट एकदमै खुसी छु, यहाँ सबैसँग खुलेर कुराकानी गर्न पाइन्छ, अन्यत्र भाषाको समस्या हुन्छ, आफू ठूलो देशमा नगएपनि आफूले उत्पादन गरेका फलाम, तामा र सिल्टेका भाडा जापान, अमेरिका लगायतका देशमा पुगेका छन्” विश्वकर्माले भन्नुभयो “अहिले सजावटका लागि तामाको भाडाको निकै माग छ, तामाको भाडामा पानी खाने प्रचलन पुन फर्केको छ, उपहार र आफन्तका लागि विदेशमा समेत सामाग्री खरिद गरेर पठाउने प्रचलनले व्यापार फष्ठाएको छ ।”
सन्तोषले उत्पादन गरेका आँसी, बाउसो, खुकुरी, हसियाँ लगायतका समाग्रीका लागि बजारको अभाव नभएको बताउनुभयो । आरनमा फलाम, तामा र सिल्टेका विभिन्न सामाग्री निर्माण गर्दै आउनुभएका विश्वकर्माले राम्रो सामाग्री उत्पादन गर्न सके बजारको समस्या नरहेको बताउनुभयो । आफूले उत्पादन गरेका भाडा तथा हात हतियार अधिकाँश आरनबाटै बिक्रि हुनेगरेको जानकारी दिनुभयो । डाडु, पन्यु, दाब, खुकुरी बन्चरो, हँसिया बढीमात्र बिक्रि भएको उहाँको भनाई छ ।
आफ्ना पुख्यौली पेशा अँंगाल्न पाएकोमा सन्तुष्ट बन्नुभएका पिश्वकर्माले आरन व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो । घर खर्च कटाएर धेरथोर बचत समेत भएको उहाँले बताउनुभयो । आफ्नो उत्पादनबारे स्थानीय सरकारलाई भने खासै चासो नभएको गुनासो बिश्वकर्माको छ ।
उहाँले परम्परागत पेशालाई संरक्षण गर्न आवश्यक रहेको बताउदै अहिले आरन पेशा सिक्न चाहने युवा नपाएको गुनासो गर्नुभयो । उहाँले पछिल्लो समय काम गर्ने मान्छे नपाइदा समस्या भएको बताउदै पुस्तान्तरणको अभावमा पेशा लोप हुने बताउनुभयो ।
“अहिले काम गर्ने मान्छे पाइदैनन्, पछिल्लो पुस्तालाई विदेशकै मोह छ, विदेशनै जाने धन कमाउने भन्छन्” उहाँले भन्नुभयो “पुख्र्यौली पेशा संरक्षणमा स्थानीय सरकारले ध्यान दिने, पेशालाई आधुनिकरण गर्ने र प्रोत्साहन गर्न आवश्यक देख्छु ।” आफूले उत्पादन गरेका भाडा, कृषि औजार र हात हतियारका सामाग्री बागलुङ बजारमै बिक्रि केन्द्र राखेर श्रीमतीले विक्रि गर्दै आएको विश्वकर्माको भनाई छ ।