खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिकाले नेपालको तर्फबाट ऐतिहासिक शहरहरुको १९ औ विश्व सम्मेलनमा सहभागीता जनाएको छ ।
स्लोभानियाको राजधानी लुब्जानामा ४० राष्ट्रका १४१ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा सम्पन्न भएको विश्वभरका ऐतिहासिक शहरहरूको साझा संस्था Historical Cities को १९औं विश्व सम्मेलनमा नेपालको तर्फबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त सम्मेलन मार्फत बागलुङ नगरपालिकाले नेपालकै पहिलो नगरपालिकाको तर्फबाट सदस्यता प्राप्त गरेको छ । सम्मेलनले नेपालको ऐतिहासिक शहरको रूपमा रहको बागलुङ नगरपालिकालाई विश्व सामु चिनाउने विश्वास नगरप्रमुखले सम्मेलनमा व्यक्त गर्नुभएको थियो ।
नोभेम्बर १२ देखि १४ सम्म स्लोभानियाको राजधानीमा लुब्जानामा १९ औ विश्व सम्मेलनल सम्पन्न भएको थियो । ऐतिहासिक शहरहरुको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट देशमै पहिलो सदस्यता लिने नगरपालिका बागलुङ नगरपालिका भएको छ ।
सम्मेलनमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक शहरहरुलाई विश्वभर चिनाउदै दीगो विकासका लागि अनुभव आदान प्रदान गर्न सम्मेलनमा भाग लिइएको बताउनुभयो ।
उहाँले बागलुङ बजार जस्तो ऐतिहासिक शहरको बिषयमा विश्वभरका स्थानीय तहका प्रतिनिधिलाई जानकारी गराउन पाउदा खुसी व्यक्त गर्नुभयो । नगरप्रमुखले सम्मेलनमा शहरको संरक्षण र विकासमा अन्तराष्ट्रिय संस्थासंग मिलेर काम गर्ने बताउनुभएको थियो ।
आर्थिक रुपमा कमजोर अर्थतन्त्र भएका शहरहरुको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा संगै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका जस्तो ऐतिहासिक शहरहरुको प्रचार प्रसारका लागि नेपालबाट उक्त संस्थाको पहिलो सदस्यता भएको जानकारी दिनुभयो ।
सम्मेलनमा नगरपालिकाको तर्फबाट नगरप्रमुख बसन्त कुमार श्रेष्ठ संगै प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल र विपद व्यवस्थापन संयोजक दिनेश जिसी सहभागी हुनु भएको थियो ।