टोड्केमा पर्यटक पुग्नै कठिन


अमृत बास्कुने, म्याग्दी

पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिने टोड्केमा भौतिक संरचनाहरु तयार भएको भए पनि त्यहाँ सम्म पुग्ने सहज सडक मार्ग नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको छ ।

आफ्नै आँखा अगाडी दर्जनौं हिमसृङ्खला देख्न सकिने टोड्के सम्म पुग्ने व्यवस्थीत सडक मार्ग नहुँदा पर्यटकहरुलाई सास्ती हुने गरेको छ । टोड्के पुगेपछि भने त्यहाँ टोड्के हिल रिसोर्टमा बस्न खानका लागि कुनै समस्या नहुने भए पनि त्यहाँ सम्म पुग्नै सास्ती हुने गरेको टोड्के नजिकै कुहुँका स्थानीय वासिन्दा समेत रहनुभएका नेपाल होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका केन्द्रीय सचिव ताराप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो–टोड्के पुगेपछि बासका लागि टोड्के हिल रिसोर्टका साथै नजिकै बनेको पार्कले मन प्रफुल्ल बनाउँछ । माछापुच्छ«े, धौलागिरी लगायतका कयौं हिमालहरु तथा म्याग्दी, पर्वत तथा बागलुङका विभिन्न बस्तीलाई आफ्नै आँखाले देख्नका लागि निकै राम्रो गन्तव्य हो टोड्के ।

टोड्केमै पर्यटन बढाउनका लागि भनेर २०७८ सालमा निर्माण सुरु गरिएको ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको भए पनि त्यसले पुरा गति नलिएर रोकिदा समेत खेल पर्यटनका लागि राम्रो सम्भावना पनि रोकिएको छ । समुद्री सतहदेखि दुई हजार चार सय ३० मिटर भन्दा माथिको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको थियो । गाउँपालिकाले खेलमैदान निर्माण सम्पन्न गर्नका लागि १३ करोड रुपियाँ भन्दा बढी रकम लागन सहितको डिपिआर बनाएर अगाडी बढेको भए पनि आवश्यक बजेट नआउँदा काम पुरा हुन नसकेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको भनाई छ ।

उक्त खेल मैदानमा भलिबल बास्केटबल लगायतका खेलकुदका लागि राम्रो हुनुका साथै हाइअल्टिच्युडमा अभ्यास गर्नका लागि सबै खेलका लागि राम्रो हुने बेनी नगरपालिकाका प्रमुख सुरत केसीको भनाई छ । टोड्केमा आवश्यक धेरै संरचना बनेको भए पनि त्यहाँ सम्म पुग्ने सडकको स्तरोन्नती नहुँदा समस्या भएको उहाँको तर्क छ । नगरपालिकाले आवश्यकता अनुसारको योजना बनाएर वडा नम्बर ५ र १० दुवै तर्फबाट टोड्के सम्मको सहज पहुँचका लागि प्रयास गर्ने उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाको ५ र १०, रघुगंगा गाउँपालिका को ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाको संगमस्थल रहेको टोड्के सम्म जोड्नका लागि कतैबाट पनि सहज सडक मार्ग नहुँदा त्यहाँ पुग्नै पर्यटकलाई सास्ती हुने गरेको नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमको भनाई छ ।

रघुगंगा गाउँपालिका–५ सिद्ध सामुदायिक वन क्षेत्र पर्ने टोड्केमा एक करोड लागतमा पार्क निर्माण गरिएको छ । उक्त पार्कमा केही मात्रामा पर्यटकहरु पुग्ने गरेको भए पनि जुन उद्देश्य सहित बनाइएको हो त्यो अनुरुप पर्यटक पुग्न नसकेको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारी दिनुभयो ।

संघिय सरकार मार्फत आएको ७० लाख र गाउँपालिकाको ३१ लाख गरी एक करोड एक लाखको लागतमा अनुमान गरिएको उक्त पार्क खुशी होम बिल्डर्सले ६६ लाख ३२ हजार ८७ रुपियाँमा निर्माण गरेको थियो । पार्कमा चार वटा विश्राम स्थल, एउटा फाउण्न्टेन र एउटा घर निर्माण गरिएको छ । जंगलमा रहेको खाली जमिनको प्रयो गरेर निर्माण गरिएको पार्कमा पर्यटकहरु प्रयाप्त नपुग्दा जिर्ण बन्दै गएको वडा अध्यक्ष शेरपुञ्जाको भनाई छ । पार्क क्षेत्रमा एक सय ८२ मिटर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको छ ।

टोड्केमा भौतिक संरचनाहरु निर्माण भएको भए पनि त्यहाँ सम्म पुग्ने सडक अवस्था जोखिमपूर्ण हुँदा पर्यटकहरु पुग्न नसकेको स्थानीयको भनाई छ । टोड्केमा ५० जना बास बस्ने क्षमता सहितको रिसोर्ट निर्माण भएको भएको छ भने नजिकै रहेको रघुगंगा गाउँपालिका–५ झिँ मा होमस्टे रहेको छ । त्यस्तै मंगला गाउँपालिका–१ कुहुँमा पनि होमस्टे भएको हुनाले आन्तरीक तथा बाह्य पर्यटकहरुलाई बासस्थानको अभाव नहुने भए पनि त्यहाँ सम्म पुग्नका लागि सडक नै मुख्य समस्या रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *