खेमराज गौतम, बागलुङ
बागलुङको थुप्रै पहिचान मध्यको एक हो बुट्टेनली । हस्तकलाको रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुन संरक्षण थालिएको छ ।
बुट्टेनली बनाउने मानिसको संख्या कम हुदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ । बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सिप सिकाउन थालिएको छ ।
बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो । अहिले केही नयाँ त केही गत वर्ष सिकेका २० जना विद्यार्थीले बुट्टेनली बनाउने तालिम लिइराखेका छन् । १२ वर्ष सम्म बुट्टेनलीको तालिम सञ्चालनमा नआउदा बागलुङको पहिचान बुट्टेनली लोप हुँने खतरा बढेपछि बागलुङ हस्तकला संघले सिपको पुस्तान्तरण गर्न गत वर्षदेखि थालेको छ ।
२०० वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सिप प्रदान गर्न थालिएको हो । निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा लोप हुँन थालेपछि यहाँको हस्तकला संघले युवा तथा वद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको हो । गत वर्ष २० जनालाई २० दिनको तालिम प्रदान गरिएकोमा यस वर्ष १५ दिने तालिम प्रदान गरिएको छ ।
निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले गत वर्षदेखि बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको र यस पटक २० जना विद्यार्थीले बुट्टेनली बनाउन सिकिरहेको बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पा किरण श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने व्यक्तिको अभाव भएको भन्दै पुस्तानतरणका लागि अन्यलाई सिकाउन थालिएको हो ।गत वर्ष बसन्तजंग राजभण्डारीले विद्यार्थीलाई २० दिन सम्म तालिम दिनुभएको थियो भने अहिले गत वर्ष तालिममा सहभागी काठेखोला गाउँपालिका–८ लेखानीका तेजन बिकले समेत तालिममा प्रशिक्षण दिइराख्नुभएको छ ।
“हस्तकला महासंघको आर्थिक सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिइरहेका छौ, तालिम पश्चात सिप पुस्तान्तरण हुँने हाम्रो अपेक्षा छ” श्रेष्ठले भन्नुभयो “सिप हस्तान्तरण नुहँदा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोको रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलन समेत बढेको छ, हाम्रो उद्दश्य भनेको बुट्टेनली संरक्षण संगै व्यवसायिक रुपमा उत्पादन गर्नु र बजारीकरण गर्ने हो ।”
अहिले पनि मायाको चिनोको रुपमा बुट्टेनली दिने प्रचलन कायमै छ । बुट्टेनली निर्माण तालिममा बागलुङ बजारका विभिन्न विद्यालयका १४ छात्रा र ६ छात्र रहेका छन् ।
बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आएको प्रशिक्षक बसन्त जंग राजभण्डारीले जानकारी दिनुभयो । बागलुङ जिल्लाको पहिचान मध्येको एक बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भएपनि लोप हुँन वर्षौपछि पुस्तान्तरण थालिएको हो ।
एक हप्तादेखि बुट्टेनली तालिम लिइराखेका कक्षा ८ मा अध्ययनरत अनुप घर्तीले आफूलाई हस्तकला क्षेत्रमा पहिलै देखि रुची रहेको र बुट्टेनलीको तालिम लिन पाउदा खुसी लागेको बताउनुभयो । तालिम मार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायीकरण गर्न सहयोग पुग्ने घर्तीले जानकारी दिनुभयो । बागलुङ भित्रिने पाहुँनाले बुट्टेनलीका बारेमा चासो राखेर खदि गर्न खोजेपनि पाइनै छोडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो ।
संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २०० वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो ।
बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चा पदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले गत वर्ष सिकाएपछि आफूले नियमित रुपमा बुट्टेनली निर्माण गर्दै आएको काठेखोला गाउँपालिका–८ लेखानीका चेतन बिकले बताउनुभयो । अहिले बिकले समेत विद्यर्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।