खेमराज गौतम, बागलुङ
बागलुङको पश्चिमको केन्द्र गलकोटलाई ताराखोला देखि म्याग्दी जिल्ला जोड्ने सडकको दोस्रो खण्डकोस्तरोन्नती शुरु भएको छ ।
गलकोट–हरिचौर–हिल–तारा देखि रुम म्याग्दीको पहिलो ११ किमि सडक अहिले स्तरोन्नती संगै कालोपत्र भइरहेको छ भने दोस्रो खण्ड स्तरोन्नतीका लागि काम शुरु भएको हो ।
दोस्रो खण्डमा रु. ८ करोड ६० लाखमा तीन किमि सडक स्तरोन्नती संगै कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएर निर्माण व्यवसायी फिल्डमा आएको पूर्वाधार विकास कार्यालय बागलुङका ईन्जिनियर सुजन देवकोटाले जानकारी दिनुभयो ।
२०८१ जेठ १४मा निर्माण व्यवसायी एटलान्टिक ओएसिस कन्ट्रक्सनसंग २०८३ जेठ १३ मा स्तरोन्नती संगै कालोपत्र सक्नेगरी सम्झौता भएर अहिले सडक चौडा पार्नेकाम थालिएको इन्जिनियर देवकोटाको भनाई छ । पहिलो खण्डको ५ किमि सडक कालोपत्र भइसकेको छ भने बाँकी ६ किमि सडक कालोपत्र गर्न निर्माण व्यवसायीसंग म्याद थपिएको छ ।
पहिलो खण्ड चैत सम्म कालोपत्र सक्नेगरी ठेक्का थप गरिएको छ भने दोस्रो खण्ड स्तरोन्नती थालिएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । ताराखोला गाउँपालिका–१ मा दुई वर्ष अघि गण्डकी प्रदेशकै बजेटमा कालोपत्र सडक पुगेपनि ताराखोलाको केन्द्र नजिकै साँदी सागुबोट दोगाडी सम्म कालोपत्र सडकको पहुँच पुग्न दोस्रो खण्डको काम शुरु भएपछि स्थानीयहरु खुसी भएको स्थानीय दिवस खत्रीले जानकारी दिनुभयो ।
“ताराखोलाको केन्द्र भएर म्याग्दी जोड्ने सडक बहुवर्षीय आयोजना अन्र्तगत काम भइरहेकाले यहाँको दुर्गम स्थानमा सडक कालोपत्र हुन थालेको छ” खत्रीले भन्नुभयो “ताराखोलालाई म्याग्दी र गलकोटसंग जोड्दा मध्यपहाडी राजमार्गबाटै ताराखोला हुँदै म्याग्दीको रुम पुग्न सकिन्छ ।” खत्रीले दुर्गम पालिका ताराखोला गाउँपालिकालाई समेत कालोपत्र सडकले म्याग्दी सम्म जोड्न लागेको बताउनुभयो ।
गलकोट–ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने उक्त सडकको पहिलो र दोस्रो खण्डमा तत्कालै १४ किमि कालोपत्र हुने भएनि डिपिआर अनुसार आगमी दिनमा रुम सम्मै सडक कालोपत्रलाई गण्डकी प्रदेश सरकारले निरन्तराता दिन आवश्यक रहेको स्थानीय खत्रीले जानकारी दिनुभयो । समय सिमामै काम सक्नेगरी सडक चौडाको काम थालिएको निर्माण व्यवसायीका प्रतिनिधि प्रकाश अधिकारीले जानकारी दिनुभयो ।