डम्मर बुढामगर, बागलुङ
बागलुङको गलकोटमा दुई सडक एकै साथ कालोपत्र गर्न थालिएको छ । संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रम अन्तरगत गलकोट नगरपालिका–२ को नरेठाँटीदेखि दुदिलाभाटीसम्मको एक किलोमिटर र वडा नम्बर ३ को हटिया बजारदेखि कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्र गर्न थालिएको हो ।
सडक कालोपत्रका लागि गत भदौ १३ गते योजना सम्झौता गरि निर्माण कार्य अगाडि बढाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर शंकर पोखरेलले जानकारी दिनुभयो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरि रहेको इन्जिनियर पोखरेलले बताउनुहुन्छ ।
पोखरेलका अनुसार आयोजनाको सबै काम गर्ने जिम्मा बागेश्वरी मल्टी प्रपोज निर्माण सेवा नुवाकोटले जिम्मा लिएको छ । कम्पनीले वि.सं. २०८२ फागुनसम्म सक्ने गरि रु ७ करोड ६५ लाखमा जिम्मा पाएको उहाँको भनाइ छ । निर्माण कम्पनीले धमाधम भएको भन्दै हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको पोखरेलले बताउनुभयो ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले दशक अगाडि निर्माण भएका सडक एकीकृत सहरी पूर्वधार विकास कार्यक्रममा समावेश भएपछि कालोपत्र हुन थालेको बताउनुभयो । यो कार्यक्रमले गलकोट नगरलाई व्यवस्थित रुपमा विकास गर्न टेवा पु¥याउने उहाँको भनाइ छ । नगरपालिकाले एउटा योजनाका लागि एकै पटक करोडौँ लगानी गर्न नसक्ने भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो – “नगरपालिकामा सीमित स्रोत साधान हुने हुँदा एकै पटक धेरै योजनामा करोडौँ लगानी गर्न सकिएको छैन, यस वर्षदेखि एकीकृत सहरी पूर्वधार विकास कार्यक्रम लागु भएको छ, यस कार्यक्रमले गलकोटको विकासमा कोसेढुङ्गा सावित भएको छ, नरेठाँटी दुदिलाभाटी र हटियादेखि कोटघर जाने लामो समयदेखि कालोपत्र गर्न सकिएको थिएन अहिले हुन थाल्यो, यो योजनाबाट धेरै नागरिक लाभाम्वित हुने छन् ।”