डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेदेखि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी जोड्ने सडक ट्रयाक खुलेको २१ वर्षपछि स्तरोन्नति गर्न थालिएको हो । वि.सं.२०६० सालमा जनश्रमदान गरि ट्रयाक निर्माण गरिएको उक्त सडक लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो ।
संघीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिएको थियो । तर कामले पूर्णता पाउन सकेको थिएन । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलले आर्थिक वर्ष २०८०÷०८१ मा पहिलो खण्ड अन्तरगत सुलडाँडादेखि भुदीखोलासम्म सडक स्तरोन्नति भएको भन्दै यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको जानकारी दिनुभयो । गत वर्ष सुलडाँडादेखि भुदीखोलासम्मको खण्डमा रु दुई करोडको काम भएको उहाँ बताउनुभयो ।
चालु आर्थिक वर्षमा भुदीखोलादेखि पैराखर्कसम्मको साढे तीन किलोमिटर सडक ग्राभेलिङ गर्ने उहाँको भनाइ छ । बहुवर्षे योजना अन्तरगत संघीय सरकारको पाँच करोड लगानीमा धमाधम स्तरोन्नति भइरहेको अध्यक्ष कँडेलले बताउनुभयो । चालु वर्ष गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ५० लाखले तेस्रो खण्ड अन्तरगत पैराखर्क, शिवालय, पिपलथर हुँदै करलिमसम्मको सडक पनि स्तरोन्नति गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष कँडेलले भन्नुभयो – “यस वर्षको स्तरोन्नति गर्न थालेको खण्ड निकै संवेदशील ठाउँ छ, पहिरो जाने, बस्तीनै बगाउने खालको जोखिम छ, त्यसले गर्दा यो खण्डमा बढी बजेट खर्च गरेर भए पनि पक्की नाली र छेउछाउमा पक्की पर्खाल लगाउने कामलाई प्राथमिकता दिएका छौँ, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर दूरी भए पनि अहिलेसम्म काम हुन सकेको थिएन, केन्द्र सरकारले बजेट व्यवस्थापन गरेपछि काम अगाडि बढेको हो ।”
उक्त सडकले मध्यपहाडी लोकमार्ग अन्तरगत काठेखोला गाउँपालिका–२ अक्षतेदेखि वडा नम्बर ६ तल्लो बिहुँ हुँदै वडा नम्बर ८ को लेखानी कादेससम्म जोडिएको छ । दुई दशक बित्दासमेत सडक स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित बनेको स्थानीय प्रेमप्रसाद कँडेलले बताउनुभयो । कच्ची सडक त्यसमाथि साँघुरो हुँदा गाडी दुर्घटना हुने उच्च जोखिम रहेको उहाँको भनाइ छ ।
“सडक खुलेको लामो समय बितिसकेपछि बल्ल सडक राम्रो बनाउन थालेका छन्, यो सडक समयमै स्तरोन्नति नहुँदा धेरै ज्यान पनि गुमाएका छन्, पिचनै नभए पनि फराकिलो हुन्थ्यो भने पनि यात्रा गर्न सजिलो हुने थियो” उहाँले भन्नुभयो – “अहिले कामले गति लिएको छ, बाटो पनि सजिलो र फराकिलो बनाइ रहेको छ, अब यात्रा गर्दा जोखिम मोल्र्नु पर्ने छैन ।”