आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङको निर्वाचनमा दुई प्यानलबाट ४० जनाको उम्मेदवारी परेको छ ।
पदाधिकारी, सदस्य, केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यको २२ पदका लागि ४० जनाको उम्मेदवारी परेको निर्वाचन संयोजक हिरा बहादुर केसीले जानकारी दिनुभयो । जसमध्ये तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार भएको मनोनय दर्तामा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । बागलुङमा प्रेस युनियन र प्रेस चौतारीको एउटा र प्रेस सेन्टर बागलुङ र प्रगतिशिल पत्रकार संघ बागलुङको अर्को प्यानल चुनाबी मैदानमा उत्रेको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट तारानाथ आचार्यले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघको गठबन्धनबाट राम थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै युनियन चौतारीको तर्फबाट उपाध्यक्षमा सुवास आचार्य, महिला उपाध्यक्षमा सिर्जना पन्त, सचिवमा नारायण रिजाल, सह–सचिवमा डम्मबर बुढा तथा नवराज परियार र कोषाध्यक्षमा खेमराज गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै सेन्टर प्रगतिशीलको तर्फबाट उपाध्यक्षमा किरण आचार्य, महिला उपाध्यक्षमा पवित्रा बुढा, सचिवमा बिजय राना, सह–सचिवमा खगेन्द्र बिक र कोषाध्यक्षमा सुमन सुनारको उम्मेदवारी परेको छ ।
समावेशी सह–सचिवमा नवराज परियार भने सर्वसम्मत भएको निर्वाचन संयोजक केसीले जानकारी दिनुभयो ।
खुल्ला सदस्यमा अर्जुन कार्की, बालकृष्ण सुवेदी, प्रदिप पन्त, त्रिलोचन रिजाल, प्रकाश बराल, केशव राज क्षेत्री, दिपेन्द्र परियार, ज्ञानबहादुर सिंह, योगेन्द्र विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै दलित सदस्यमा अनिष खाती र रमेश सेन्चुरी, आदिवासी जनजाती सदस्यमा छलिता वुढा मगर र संगम घर्ती मगरले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भएकी छिन् । यस्तै समावेशी सदस्यमा पदमबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन् ।
मंसिर २८ गते हुने निर्वाचनले पदाधिकारीमा ७ जना र खुल्ला, महिला, दलित, समावेशी, अल्पसंख्यक र खुल्ला सदस्यमा ८ जना गरी १५ जनालाई निर्वाचित गर्नेछ । यस्तै केन्द्रिय परिषद सदस्यामा २ र प्रदेश परिसद सदस्यमा पाँच जना निर्वाचित हुने व्यवस्था रहेको छ । केन्द्रिय परिषद सदस्यमा दिलिप पौडेल, पिम्ला गौतम, कोपिला कँडेल र थम्मन थापाको उम्मेदवारी परेको छ ।
प्रदेश परिसद सदस्यमा खिम बहादुर कार्की, चन्द्र गणैश पौडेल, लक्ष्मी परियार, सुवासराज पन्त, कृष्ण आचार्य, बेलुकाजी थापा, बलम खड्का र मित्रलाल खरेलको उम्मेदवारी परेको छ । उम्मेद्वार उपर विहीबार विहान ८ बजेसम्म दावी विरोध गर्न र विहान १० बजेसम्म उम्मेद्वारी फिर्ता लिन पाइनेछ ।