बेलढुङ्गा–पञ्चकोट साइकल लेन बजेट अभावमा अधुरै


खेमराज गौतम, बागलुङ
समुन्द्री सहतदेखि दुई हजार ५०० मिटरको उचाईमा निर्माणधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ ।
घनाजंगलको वीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्राउने उदेश्य राखेपनि बजेट अभावमा साइकल लेन अधुरो बनेको हो ।

बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गालाई पञ्चकोटसंग जोड्नका लागि २०७७ सालमा साइकल लेनको अवधारणा ल्याइएको थियो । शुरुको २ वर्ष साइकल लेन बनाउन बजेट समेत गण्डकी प्रदेशले विनियोजन गरेको थियो । अहिले सम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसकेपनि बजेट अभावले काम रोकिएको छ ।

कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीय स्थल बेलढुङ्गा एकाएक चर्चामा आएको छ । उक्त गन्तव्यलाई नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचिमा रहेको पञ्चकोट संग जोड्नका लागि नौ किमि साइकल लेन बनाउने र साहसिक पर्यटकलाई जंगलको बाटो पञ्चकोट हुँदै बेलढुङ्गा पु¥याउने लक्ष्यका साथ मिर्नाण थालिएको साइकल लेन तीन वर्ष यता अघि बढ्न नसकेको काठेखोला गाउँपालिका–३ स्थित बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले जानकारी दिनुभयो ।

“दुई चर्चित पर्यटकीय गन्तव्य बेलढुङ्गा र पञ्चकोट जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण गर्न गण्डकी प्रदेश सरकारले २०७७ साल र २०७८ सालमा रु. ४० लाख बजेट बिनियोजन गरेको थियो, उक्त बजेटबाट बेलढुङ्गामा पर्यटकीय पूर्वाधार सहित दुई किमि साइकल लेन निर्माण गरिएको थियो” श्रीसले भन्नुभयो “दुई किमि साइकल लेन मध्ये ४०० मिटर साइकल लेन पक्की बनाइएको छ भने २०० मिटरमा स्लेट ढुङ्गा छापेर चिकिक्क बनाइएको छ, तीन वर्ष यता साइकल लेन बनाउन कसैको नजर परेको छैन ।”

बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरेपनि दुई किमिमै रोकिएको हो । बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको थियो ।

बागलुङ नगरपालिका–६ स्थित पाँच कोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धौलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरी साइकल लेन बनाउने अवधारणा ल्याइएको थियो ।
साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकल मार्फत पुग्न सक्नेगरी पञ्चकोटलाई बेलढुङ्गा जोड्ने अभियानमा ठेस पुगेको श्रीसको भनाई छ ।

बेलढुङ्गाबाट पञ्चकोट सम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट पञ्चकोट तर्फ साइकललेन निर्माण थालिएको थियो । साइकल लेन पुरा गर्न रु.दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । सडक सञ्जालले पर्यटकीय पदमार्ग मासेको समयमा पैदलयात्री र साइकल चलाउन मिल्नेगरी निर्माण थाएिको पदमार्गले गति लिन नसकेको हो ।

बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्ग मार्फत चार घण्टामै बेलढुङ्गा आउनेगरी चार फिट चौडा साइकल लेन निर्माण थालिएको थियो ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड देखिने बलढुङगा पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्य बनेपछि पाँच वर्ष अघि धम्जाको ओख्लेमा समुदायिक घरबास समेत सञ्चालनमा आएको छ ।

साउन यता २५० जना पर्यटक घरबासमा आइसकेका छन् । बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित यहीवर्षबाट देउरालीमा समेत घरबास सञ्चालनमा ल्याइएको स्थानीय हिमाल सागर श्रेष्ठले बताउनुभयो । पूर्वाधार निर्माणमा सहयोग आए बलेढुङ्गामा आन्तरिक पर्यटकहरु उल्लेख्य भित्रन सक्ने उहाँको भनाई छ । बेलढुङ्गाको पर्यटकीय पूर्वाधार निर्माणमा पालिकाले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले जानकारी दिनुभयो । उहाँले साइकल लेन बनाउने बजेट प्रदेश र संघीय सरकारबाट ल्याउन पालिकाले पहल गरिरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *