पाँच वर्षदेखि दुई जिल्लो जोड्ने सडक अलपत्र

डम्मर बुढा मगर, बागलुङ
बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक अलपत्र परेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा दुई जिल्ला जोड्ने उक्त सडक अलपत्र परेको हो । दक्षिण बागलुङलाई जिल्ला सदरमुकामसँग जोड्नका लागि वि.सं. २०६६ सालमा ट्रयाक खुलेको सडकको स्तरोन्नति गर्न वि.सं. २०७६ सालमा ठेक्का लगाइएको थियो ।

मालढुङ्गा–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडक अन्तरगत रुम्टा–राङ्खानी खण्डको १० किलोमिटर सडक अलपत्र परेको हो । सडक कालोपत्रका लागि पाँच वर्ष अगाडि क्याराभान एण्ड शर्मा जेभीले जिम्मा लिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेश रिगलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण कम्पनीले रु २८ करोड ५८ लाख ५७ हजार ८१७ कालोपत्र गर्ने जिम्मा लिएको थियो । वि.सं. २०७८ सालमा सक्ने गरि जिम्मा लिए पनि चार पटकसम्म म्याद थप गर्दा करिब ५८ प्रतिशत मात्रै काम सम्पन्न गरेको रिगल बताउनुहुन्छ । अन्तिम पटक थप गरेको म्याद चैत मसान्तसम्म भए पनि निर्माण कम्पनी हाल फिल्डमा नभएको उहाँको भनाइ छ ।

“निर्माण कम्पनीले काम गरेको भए धेरै पहिलेनै सकिनु पर्ने हो, तर अहिलेसम्म तुलनात्मक रुपमा कामको गति निकै कम भएको छ, चार पटक म्याद थप गर्दा आधाआधि मात्रै काम भएको छ” सूचना अधिकारी रिगलले भन्नुभयो – “अझै चार महिना छ, यो अवधिमा काम गरिने संभावना निकै कम छ, काम गरेमा केही महिना म्याद थप गर्न सकिने थियो ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले निर्माण कम्पनीलाई बारम्बार काम सक्न आग्रह गरे पनि अटेरी गरेको बताउनुभयो । ट्रयाक खुलेको झण्डै डेढ दशकसम्म सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङ र गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक साँघुरो र अप्यारो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको शर्मा बताउनुहुन्छ ।

उपप्रमुख शर्माले भन्नुभयो – “निर्माण कम्पनीलाई धेरै काममा फर्किनु स्थानीय सरकारका हिसाबले हामीहरुले के सहयोग गर्नु पर्छ गर्छौँ भन्यौँ तर उहाँहरुले बेवास्ता गर्नुभयो, बर्खामा हिलो, हिउँदमा धुलोले गर्दा यात्रा गर्नै नसक्ने स्थिती छ, नागरिकहरु आक्रोसित भएका छन्, जिम्मा पाएको कम्पनीले काम नगर्दा समस्या भयो ।”

यो पनि पढ्नुहोस्